२०८२ फाल्गुन २९ , शुक्रवार

दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीद्वारा आत्महत्या प्रयास

Capture
सुनाखरी न्युज/ काठमाडौं ।
दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीले यस महिनाको मार्सल ल अपरेसनमा उहाँको भूमिकाका लागि औपचारिक रूपमा गिरफ्तार हुनुभन्दा केही समयअघि आत्महत्या गर्ने प्रयास गरेको कारागारका एक वरिष्ठ अधिकारीले बुधबार बताएका छन् ।राष्ट्रपति युन सुक येओलले डिसेम्बर ३ मा मार्सल ल घोषणा गर्दै सैनिक र हेलिकोप्टरहरू संसद्मा पठाउनुभयो । तर संसद् सदस्यहरूले यसलाई अस्वीकार गरेपछि केही घन्टामा नै त्यो आदेश फिर्ता लिन बाध्य हुनुभयो ।रक्षामन्त्री किम योङ–ह्युनले गत बिहीबार राजीनामा दिनुभएको थियो र मङ्गलबार ‘विद्रोहको समयमा महत्त्वपूर्ण कार्यमा संलग्न’ र ‘अधिकारको प्रयोगमा बाधा पुर्याउने दुरुपयोग’ लगायतका अभियोगमा औपचारिक रूपमा पक्राउ पर्नुभएको थियो ।संसदीय सुनुवाइका क्रममा कोरिया करेक्शनल सर्भिसका आयुक्त जनरलले पूर्वमन्त्रीले आफ्नो गिरफ्तारीको घोषणा हुनुभन्दा केही मिनेटअघि आत्महत्या गर्ने प्रयास गरेको बताउनुभयो ।
“मध्यरातको केही समयअघि (मङ्गलबार १५ः००) पूर्व रक्षामन्त्री किम योङ–ह्युनले सोल डोङबु हिरासत केन्द्रमा आत्महत्याको प्रयास गर्नुभयो”, सिन योङ–हेले भन्नुभयो ।बुधबार बिहान आफूले रिपोर्ट प्राप्त गरेको उल्लेख गर्दै सिनले किमले आफ्नो कपडाको डोरी प्रयोग गरेर शौचालयमा आत्महत्या गर्ने प्रयास गरेको बताउनुभयो ।“कन्ट्रोल रुमका एक कर्मचारी सदस्यले हस्तक्षेप गरे र जब उनीहरूले ढोका खोले, उहाँले तुरुन्तै आत्महत्यको प्रयास त्याग्नुभयो”, सिनले भन्नुभयो ।सिनका अनुसार किम अहिले सुरक्षित सेलमा र राम्रो स्वास्थ्यमा रहेको बताउनुभयो ।
“चिकित्सा परीक्षणका नतिजाहरूले कैदीको स्वास्थ्य स्थिति कुनै असामान्यता बिना राम्रो रहेको सङ्केत गर्दछ र उहाँले हाल सुविधामा सामान्य जीवन बिताइरहनुभएको छ”, न्याय मन्त्रालयले एएफपीलाई पठाएको विवरणमा उल्लेख छ ।किमले मङ्गलबार आफ्ना वकिलमार्फत ‘यस अवस्थाको सम्पूर्ण जिम्मेवारी मसँग मात्र छ’ भन्दै माफी माग्नुभएको थियो ।उहाँले दक्षिण कोरियाली जनतासँग ‘गहिरो माफी’ माग्नुभयो र आफ्ना अधीनस्थहरू ‘केवल मेरो आदेश पालना गर्दै र तोकिएको कर्तव्य पूरा गर्दै थिए’ भन्नुभयो ।  रासस /एएफपी