२०८२ फाल्गुन २९ , शुक्रवार

भारतीय उच्च कुटनीतिज्ञ बङ्गलादेशमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

विद्यार्थी नेतृत्वको क्रान्तिमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि उत्पन्न दुई छिमेकी देशबीचको तनाव कम गर्न भारतका उच्च कूटनीतिज्ञ सोमबार बङ्गलादेश पुग्नुभएको छ ।पूर्व प्रधानमन्त्री हसिना प्रशासनलाई भारतले कडा समर्थन गरेको थियो । बङ्गलादेशमा विद्यार्थीले सरकारी जागिरको कोटा प्रणालीमा गरिएको अनियमिततालाई देखाउँदै शुरू गरेको आन्दोलनले उचाइ लिँदा ७७ वर्षीया हसिना आफ्ना परिवारका केही सदस्यसहित हेलिकप्टरबाट नयाँ दिल्लीमा पुग्नुभएको थियो ।बङ्गलादेशले उहाँको सुपुर्दगीको माग गर्ने घोषणा गरेको छ ।

नोबेल पुरस्कार विजेता तथा प्रजातान्त्रिक सुधारहरू कार्यान्वयन गर्ने जिम्मा पाएको अन्तरिम सरकारका नेता मुहम्मद युनुसको नेतृत्वको प्रशासनसँग भारतीय कुटनीतिज्ञले औपचारिक छलफलका लागि ढाका पुगेको यो पहिलो अवसर हो ।भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्र हसिनाको बहिर्गमनपछि दुवै देशका उच्च अधिकारीबीच पहिलो पटक व्यक्तिगत बैठकका लागि सोमबार बंगलादेशको राजधानी ढाका आइपुग्नुभएको हो ।“दुई देशबीचको सम्बन्धमा गुणात्मक परिवर्तन आएको छ भन्ने कुरालाई स्वीकारर्नु आवश्यक छ,” बङ्गलादेशका विदेशमन्त्री तौहिद हुसेनले मिश्रको भ्रमणअघि आइतबार भन्नुभयो ।

“वास्तविकतालाई स्वीकार गर्दै सम्बन्धलाई अगाडि बढाउनुपर्छ, उहाँले भन्नुभयो ।मिश्रले ढाकामा रहँदा तौहिद र युनुससँग भेटघाट गर्ने कार्यक्रम थियो ।भारतले मुस्लिम बहुल बङ्गलादेशको हसिनापछिको आफ्नो अल्पसङ्ख्यक हिन्दू समुदायलाई सरकारले प्रतिशोधपूर्ण आक्रमणबाट पर्याप्त संरक्षण गर्न नसकेको आरोप लगाउँदै आएको छ ।गत महिना राजद्रोहको आरोपमा बङ्गलादेशमा एक प्रमुख हिन्दू धार्मिक व्यक्तिको गिरफ्तारीले तनावलाई अझ बढाएको छ ।प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी र यसका समर्थकहरूले आफ्नो सरकारलाई ढाकाको बारेमा थप कठोर अडान लिन आग्रह गरेका छन् ।

युनुसको प्रशासनले हिन्दूहरूमाथि भएको आक्रमणलाई बारम्बार स्वीकारेको छ र निन्दा गरेको छ । कतिपय घटनाहरूमा उनीहरू धर्मभन्दा राजनीतिबाट प्रेरित भएको युनुस प्रसासनको बुझाइ छ ।युनुसले भारतले हिंसाको मात्रालाई अतिरञ्जित गरेको र आफ्नो सरकारविरुद्ध ‘प्रोपोगान्डा अभियान’ चलाएको आरोप लगाउनुभएको छ ।हसिनाको पलायनपछि बङ्गलादेशमा भारतविरोधी थुप्रै सडक प्रदर्शन भएका छन् ।आइतबार विपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का सयौं कार्यकर्ताले ढाकास्थित भारZ उच्चायोग (दूतावास) सम्म मार्च निकालेका थिए तर प्रहरीले बाटो रोकेपछि शान्तिपूर्ण रूपमा तितरबितर भएका थिए ।  रासस/एएफपी