
सुनाखरी न्युज/ काठमाडौं ।
फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरले संसदमा अविश्वासको प्रस्तावविरूद्ध बहुमत पुष्टि गर्न नसकेपछि राजीनामा दिनुभएको छ ।उहाँ बिहीबार इमानुएल म्याक्रोँलाई भेटी राजिनामा दिएको तर उहाँलाई अर्को व्यवस्था नभएसम्म कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्न राष्ट्रपति म्याक्रोँले आग्रह गर्नुभएको छ ।
समकालीन फ्रान्सको सबैभन्दा छोटो सेवा गर्ने प्रधानमन्त्री बनेका बार्नियर राजीनामाको औपचारिकताका लागि स्थानीय समयानुसार बिहान ९ः०० बजे ‘एलिसी प्यालेस’ पुग्नुभएको थियो ।बुधबार बहुमत सांसदले वामपन्थी समूहले प्रस्ताव गरेको अविश्वासको प्रस्तावलाई समर्थन गरेका थिए । मरिन ले पेनको नेतृत्वमा रहेको गठबन्धनले प्रस्तावको समर्थनमा मत दिएको थियो ।
प्रधानमन्त्री बार्नियरले संसदीय समर्थन विनै संविधान प्रदत्त विशेष अधिकार प्रयोग गर्दै ‘सामाजिक सुरक्षा वित्तीय योजना’ विधेयकलाई पारित गर्न खोजेपछि विपक्षी चरम दक्षिणपन्थी दल नेशनल ¥याली र वामपन्थी दल न्यू पपुलर फ्रन्टले उहाँ विरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए ।राष्ट्रपति म्याक्रोँले स्थानीय समयअनुसार राति ८:०० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको कार्यालयले जनाएको छ ।
रासस/एएफपी