
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको छ । आज बुधवार मुख्यसचिव अर्याललाई बधाइ तथा शुभकामना दिदै परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि प्राथमिकतामा राख्नुपर्ने विषयबारे छलफल गरेको हो ।
मुख्यसचिव अर्याललाई सफल कार्यकालको शुभकामना दिनुहुँदै अध्यक्ष राजेश कुमार अग्रवालले समग्र अर्थतन्त्रको विकासका लागि नीतिगत स्थायित्व र कानुनी सुधारमा ध्यान दिइनुपर्ने बताए।
अर्थतन्त्रका केही सूचक सकारात्मक देखिएपनि उत्पादनशील एवं निर्माण क्षेत्र अझै पनि चलायमान हुन नसकेको उनले बताए। समग्र अर्थतन्त्रको विकासका लागी बजेटको प्रभावकारी कार्यान्वय एवं स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्नेमा उनले जोड दिए ।परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले अनुकुल औद्योगिक वातावरण निर्माणका लागि प्रकृयालाई सरलिकरण गरिनुपर्ने, रोजगारी थप बढाउन रोजगारी दिइरहेका उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए।
सो अवसरमा मुख्यसचिव अर्यालले अर्थतन्त्रको विकासका लागि सरकारलाई निजी क्षेत्रको सहयोग चाहिने बताए। पछिल्लो पटक केही कानुन संशोधन हुँदा त्यसले सकारात्मक काम गरेको भन्नुहुँदै कानुन सुधार गरेर अगाडि बढ्ने बताए। उहाँले आफ्नो कार्यकालमा निजी क्षेत्रले केही न केही भएको अनुभूती गर्ने बताए।परिसंघका उपाध्यक्षद्वय वीरेन्द्र राज पाण्डे, अमित मोर, पदाधिकारी सदस्य गोकुल भण्डारी, महानिर्देशक डा. घनश्याम ओझालगायतले बधाई तथा शुभकामना दिए ।