
सुनाखरी न्युज / काठमाडौं ।
राष्ट्रिय समाचार समिति (रासस) र चाइना मिडिया ग्रुप (सिएमजी)बीच प्रविधि हस्तान्तरण, तालिम प्रशिक्षण र अनुभव आदनप्रदानमा सहकार्य गर्नेबारे छलफल भएको छ ।नेपाल भ्रमणमा रहेको चाइना मिडिया ग्रुपका एसिया–प्रशान्त निर्देशक छाओ यी नेतृत्वको टोली र राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाबीच आज राससको केन्द्रीय कार्यालयमा भएको भेटवार्तामा यस विषयमा सहकार्य गर्दै अघि बढ्ने समझदारी बनेको हो । उहाँहरुबीच दुई देशबीचका समाचार संस्थाबीच तालिम आदनप्रदान तथा कार्यक्रममा सहभागी भएर सम्बन्धलाई बलियो बनाउने बारेमा पनि विचारविमर्श भएको थियो ।
सो अवसरमा कार्यकारी अध्यक्ष झाले रासस र चाइना मिडिया ग्रुपबीच सहकार्य गर्नेबारे महत्वपूर्ण छलफल भएको जानकारी दिँदै यसबाट नेपाल र चीनबीच जनस्तरको सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । छ दशक लामो इतिहास बोकेको मुलुकको एक मात्र समाचार समिति रासस र चाइना मिडिया ग्रुपबीचको सहकार्यले समाचार सेवा आदनप्रदान मात्र नभइ दुई मुलुकको जनस्तरको सम्बन्धलाई थप प्रगाढ तुल्याउन मद्दत पुग्ने उहाँको विश्वास छ ।
“समाचार सहकार्यको सम्बन्ध सधैँ कायम रहिरहनुपर्छ, हामी निरन्तर सहकार्यको पक्षमा छौँ”, कार्यकारी अध्यक्ष झाले भन्नुभयो, “एक वर्षअघि चीनको ग्वान्जाओमा भएको ‘वल्र्ड मिडिया समिट’ मा म सहभागी भएको थिएँ, हालै राससका प्रधानसम्पादक उत्तम सिल्वालले चीन सरकारको निमन्त्रणामा त्यहाँको भ्रमण गर्नुभएको थियो, भ्रमण आदानप्रदानले एकअर्कालाई, चिन्न, समस्या बुझ्न र समाधान पहिल्याउनका साथै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ गर्न वातावरण निर्माण गर्नेछ ।”
दुई देशका पत्रकारबीचको सम्बन्ध जति बढी सुदृढ र घनिष्ट हुन्छ, जनस्तरको सम्बन्ध पनि त्यत्तिनै कसिलो हुन्छ भन्दै कार्यकारी अध्यक्ष झाले दुई मुलुकबीचको ऐतिहासिक, सांस्कृतिक र जनस्तरका सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउन जरुरी भएको उल्लेख गर्नुभयो । द्विपक्षीय भ्रमण आदनप्रदानलाई आगामी दिनमा निरन्तरता दिई सहकार्यको सम्भावना खोज्नुपर्ने उहाँको भनाइ थियो ।
चाइना मिडिया ग्रुपका एसिया–प्रशान्त निर्देशक छाओ यीले दुई मुलुकका समाचार संस्थाबीच प्रविधि हस्तान्तरण, तालिम आदनप्रदान जस्ता कार्यमा सहकार्य गर्न सकिने बताउनुभयो । उहाँले समाचार सेवा आदनप्रदानका साथै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहकार्य गर्न सकिने धारणा राख्नुभयो । उहाँले दुई संस्थाहरुबीच सहकार्यको सम्झौता गरेर अगाडि बढ्न मिडिया ग्रुपले प्रयत्न गर्ने विश्वास व्यक्त गर्नुभयो । निर्देशक यीले सांस्कृतिक सम्पदा र अनुपम प्राकृतिक सुन्दरताले भरिपूर्ण काठमाडौँ बसाइँ र यहाँका जनताको आतिथ्यताबाट आफू प्रफूल्लित भएको बताउनुभयो ।
निर्देशक यीले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको बेइजिङमा सम्पन्न तेस्रो पूर्ण बैठकले विश्व सम्बन्ध खुला र विस्तार गर्ने तथा आधुनिक विकासमा सहकार्य गर्ने निर्णय गरेबमोजिम मिडिया ग्रुपले सम्बद्ध मुलुकबीच सहयोग आदनप्रदानका साथै एकअर्काबाट पाठ सिकेर अगाडि बढ्ने रणनीति लिएको स्पष्ट पर्नुभयो ।हङ्कङमा मुख्यालय रहेको चाइना मिडिया ग्रुपका एसिया–प्रसान्त निर्देशक यीले एयिसा–प्रसान्त क्षेत्रका ४१ मुलुकसँग सहकार्य अघि बढाउने जिम्मेवारी पाउनभएको छ । चाइना मिडिया ग्रुप ६ वर्षअघि चीनका विभिन्न सञ्चार माध्यम गाभिएर बनेको समाचार संस्था हो । रासस