
सुनाखरी न्युज / काठमाडौं ।
त्रिशूलीमा हराएको बस खोज्न प्रयोग भएको चुम्बक सोमबार चितवनको काभ्रेघाटमा फेला परेको छ।गत असार २८ गतेदेखि हराइरहेको दुईवटा यात्रुवाहक बस खोज्न उक्त चुम्बक प्रयोग भएको थियो।नदीभित्र हालेर बस खोज्न प्रयोग भएको १९ किलोको चुम्बक हराएको थियो।
बस खोज्न भारतबाट दुइटा चुम्बक ल्याइएको थियो। १९ किलो र १४ किलोको दुइटा चुम्बक पानीमा खसालेर बेपत्ता बसको खोजी सुरू गरिएको थियो। त्यस क्रममा चुम्बकसँगै लाइफ ब्वाई ट्युब समेत पानीले बगाएको थियो। हराएको चुम्बक र ट्युब सोमबार भेटिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
लाइफ ब्वाई ट्युब पानीमा मानिस डुबेको बेला उद्धारको लागि प्रयोग गरिन्छ। त्रिशूली नदीमा हराइरहेको बस खोज्न भारतबाट आएको उद्धार टोली (एनडिआरएफ) भने आइतबार नै फर्किसकेको छ।