२०८३ बैशाख २० , आइतवार

आक्रमणमा मेरो हत्या गर्ने अभिप्रायले गरिएको थियो : अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प

donald trump

सुनाखरी न्युज/ काठमाडौं।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सञ्चारमाध्यम ‘न्यूयोर्क पोस्ट’ सँगको कुराकानीमा शनिबारको आक्रमणमा ‘आफू मारिने सम्भावना’ बाट उम्केको बताउनुभएको छ ।रिपब्लिकन नेसनल कन्भेन्सनमा भाग लिन मिल्वौकी जाने क्रममा आफ्नो विमानमा सवार ट्रम्पले ‘न्यूयोर्क पोस्ट’ लाई दिएको अन्तर्वार्तामा आफूलाई बचाउन सुरक्षा अधिकारी र अभियानमा सहभागी शुभेच्छुकले खेलेको भूमिकाको प्रसंशा गर्दै भन्नुभयो, सायद, म यहाँ हुने थिइन, म मरेको हुन्थेँ होला ।”

उहाँले आफ्नो दाहिने कानमा सेतो पट्टी बाँधेर सुनाएको यो ‘अति वास्तविक अनुभव’ भएको पत्रिकाले उल्लेख गरेको छ ।शनिबार एक चुनावी र्‍यालीमा सहभागी हुने क्रममा बन्दुकधारीले प्रहार गरेको गोलीले ७८ वर्षीय ट्रम्पको कानमा लछार्दै गएको थियो । आक्रमणबाट उहाँको अनुहार रगताम्य भएको, एक जना पैदलयात्रीको मृत्यु भएको र अन्य दुई जना घाइते भएका थिए ।

ट्रम्पले र्‍यालीलाई सम्बोधन गर्ने क्रममा अवैध आप्रवासीसम्बन्धी चार्ट पढ्नका लागि आफ्नो टाउको दायाँतिर नझुकेको भए आफ्नो मृत्यु हुने बताउनुभएको थियो ।उहाँले भन्नुभयो, “घटनापछि धेरैले भनिरहेका छन् कि “भाग्यले वा भगवानको कृपाले म अझै पनि जीवित छु ।”गोली प्रहार गर्ने आक्रमणकारीलाई तत्काल ‘सफाया’ गरेकामा उहाँले गुप्तचर सेवाका एजेन्टको प्रशंसा गर्नुभयो ।

उहाँले भन्नुभयो, “उनीहरूले आक्रमणकारीलाई आँखाको बीचमा एउटा गोली प्रहार गरी आफूलाई भीडबाट बाहिर निकालिएको मलाई बताइएको छ ।”“उनीहरूले उत्कृष्ट काम गरे,” उहाँले भन्नुभयो, “यो हामी सबैका लागि अवास्तविक छ ।”सिक्रेट सर्भिसका एजेन्टहरूले ट्रम्पलाई घेरा हालेर भीडबाट निकाल्दै गर्दा मुठ्ठी उठाएको तस्बिर संसारभरका पत्रिकाको फ्रन्ट पेजमा छापिएको थियो । उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

“धेरै मानिसहरूले यो आफूले देखेको सबैभन्दा प्रतिष्ठित तस्वीर भएको बताउँछन्,” पूर्व राष्ट्रपतिले न्यूयोर्क पोस्टसँग भन्नुभयो “उनीहरूले सही भनेका हुन् । आक्रमणबाट म बाँच्न सफल भएको छु । सामान्यतया पत्रपत्रिकामा यस्तो चर्चा एक जीवित व्यक्तिका लागि विरलै हुने गर्छ ।”   रासस/एएफपी