
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली राजदूतावास, मस्कटले १९ असार २०८१ तद्नुसार ०३ जुलाई २०२४, बुधवारको दिन नेपाल घर, मस्कटमा व्यापार, लगानी तथा रोजगारी प्रवर्द्धन सम्बन्धी कार्यक्रम आयोजना गरेको थियो। नेपाल र ओमानबीचको व्यापार एवं लगानीका अवसरहरूलाई प्रवर्द्धन गर्ने र नेपाली कामदार ल्याउन इच्छुक ओमानस्थित संस्थाहरुका लागि शुरुवात गरिएको संस्थागत मागपत्र प्रमाणीकरणको ई(पोर्टलबारे जानकारी सम्प्रेषण गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रममा प्रतिष्ठित व्यवसायिक संस्थाहरु जस्तै सुपरमार्केट, निर्माण कम्पनी, सेवा प्रदायक संस्था, अस्पताल आदिका कन्ट्री म्यानेजर, मानव संशाधन प्रबन्धक लगायत सञ्चारकर्मी, उद्योग व्यवसायीहरू र नेपाली स्वयम् सेवक सहित ६५ भन्दा बढी अतिथिहरुको सहभागिता रहेको थियो।कार्यक्रममा बोल्दै राजदूत डोरनाथ अर्यालले नेपाल सरकारले नेपाली व्यापारको विविधीकरण र नेपालमा वैदेशिक लगानीका प्रशस्त अवसरहरुको प्रवर्द्धनलाई प्राथमिकतामा राखेको कुरालाई प्रकाश पार्दै नेपाली समकक्षीहरुसँगको आफ्नो कारोबारलाई विस्तार गर्न ओमानस्थित व्यवसायीहरुलाई आग्रह गरे।
राजदूत अर्यालले नेपाल इन्भेष्टमेन्ट समिट २०२४ सफलतापूर्वक सम्पन्न भएको र यसका उपलब्धिहरूबारे अतिथिहरूलाई जानकारी गराएका थिए । राजदूत अर्यालले ओमानमा संस्थागत माग प्रमाणीकरणका लागि ई(पोर्टलको शुभारम्भ गर्नुका साथै यसबाट सम्पूर्ण प्रक्रिया पारदर्शी र सहज हुने आफू विश्वस्त भएको जानकारी दिए। उहाँले नेपाली कामदार भर्ना सम्बन्धी अन्य प्रक्रियालाई पनि क्रमशः अनलाइन प्रक्रियामा लैजाने र त्यस्ता पहलले प्रमाणीकरणको कार्यमा सहजता, शीघ्रता र पारदर्शिता ल्याउने विश्वास व्यक्त गर्नुभएको थियो।
कन्सुलर सेवा विभागका सूचना-प्रविधि अधिकृत नवीन झाले e-portal (https://demand.nepalconsular.gov.np)बाट गर्नु पर्ने कम्पनी दर्ता र माग पत्र प्रमाणीकरणबारे भर्चुअल प्रस्तुतिकरणबाट व्याख्या गरेका थिए । उहाँले रोजगारदाता कम्पनीले e-portalमा सर्वप्रथम आफ्नो कम्पनी दर्ता गर्नुपर्ने र राजदूतावासले दर्ता स्वीकृती प्रदान गरेपछि मात्रै नेपाली कामदार भर्नाको लागि मागपत्र प्रमाणीकरण प्रक्रिया अगाडि बढाउन सकिने जानकारी दिएको थियो। राजदूतावासका द्वितीय सचिव श्री बिशेष कुमार साहले नेपाली कामदार भर्नाको लागि मागपत्र प्रमाणीकरणको सम्पूर्ण प्रक्रियालाई यस ई-पोर्टलको माध्यमबाट भौतिक रुपमा गर्नुपर्ने कार्यलाई डिजिटल प्लेटफर्ममा प्रतिस्थापन गरेको जानकारी दिदै अन्तरक्रियाको क्रममा सहभागीहरूले उठाएका प्रश्नहरूको सहज जवाफ दिएको थियो।
ओमानका रोजगारदाताहरूकोमा कम्पनी दर्ता १९ असार २०८१ (०३ जुलाई २०२४) देखि सुरु भएको छ। ०१ श्रावण २०८१ (१६ जुलाई २०२४) बाट सबै संस्थागत मागपत्रहरू e-portal मार्फत मात्र प्रमाणिकरण गरिनेछ र भौतिक मागपत्रहरू राजदूतावासमा स्वीकार गरिने छैन। कार्यक्रमका सहभागीहरुलाई अनलाइन मागपत्र प्रमाणीकरण सम्बन्धी विश्लेष्नात्मक म्यानुअल र नेपालको व्यापार तथा लगानी अवसर सम्बन्धी कागजात उपलब्ध गराइएको थियो। कार्यक्रमको संचालन राजदूतावासका द्वितीय सचिव श्री बिशेष कुमार साहले गरेका थिए ।