२०८३ श्रावण ३१ , आइतवार

काठमाडौँ उपत्यकामा कहिले भित्रिन्छ मनसुन ?

kathmandu-valley

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा सोमबार मनसुन भित्रिएको घोषणा गरेको थियो। मनसुन पूर्वी नेपालबाट भित्रिएर कम्तिमा पाँच दिनभित्र देशभर फैलन्छ।

 

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौं उपत्यकामा आज सामान्य वर्षाको सम्भावना क्षीण छ। अहिले कोशी प्रदेशमा मनसुनको प्रभाव छ। बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ।

पश्चिम तराईमा भने तातो हावा चल्ने पूर्वानुमान महाशाखाले गरिसकेको छ।  यद्यपि यहाँको आकाशमा बादल लाग्ने सम्भावना छ। काठमाडौंको अधिकतम तापक्रम आज ३२ देखि ३४ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ ।

अहिले सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी इलाकामा मौसम सफा छ । कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा पनि भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।