
सुनाखरी न्युज/ काठमाडौँ ।
मिस युनिभर्स नेपाल २०२४ को आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले चक्रपथ स्थित नमूना कलेज अफ फेसन टेक्नोलोजीमा विद्यार्थी सशक्तीकरण कार्यक्रम सम्पन्न गरेको छ । आज सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूको व्यक्तिगत विकास र करियर सम्बन्धी उत्प्रेरणामुलक गतिविधिहरु समावेश गरिएको थियो ।
कार्यक्रमको प्रमुख आकर्षण चर्चित गायिका इन्दिरा जोशी थिइन् । उनले विद्यार्थीहरूलाई जीवनमा सकारात्मक सोच, आत्म–विश्वास र लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयास गर्न उत्प्रेरित गरेकी थिइन् । आफ्ना अनुभवहरू साट्दै उनले विद्यार्थीहरूलाई चुनौतीहरूको कसरी सामना गर्ने र कसरी आफ्नो क्षमताको अधिकतम उपयोग गर्ने भन्ने विषयमा मार्ग दर्शन गरेकी थिइन् ।
कार्यक्रमलाई अन्तरक्रियात्मक बनाउनको लागि प्रश्नोत्तर सत्र पनि आयोजना गरिएको थियो जसमा विद्यार्थीहरूले इन्दिरा जोशीसँग विभिन्न प्रश्नहरू सोधेका थिए । यस अन्तरक्रियात्मक सत्रले विद्यार्थीहरूलाई आफ्ना जिज्ञासाहरू मेटाउन र नयाँ ज्ञान हासिल गर्न सहयोग पुगेको उनीहरुले बताए ।जोशीले विद्यार्थीहरूको आत्म–प्रकाश र आत्मविश्वास बढाउन विभिन्न सामूहिक छलफल, भूमिका निर्वाह अभ्यास, र फेसन तथा प्रविधिसँग सम्बन्धित सिर्जनात्मक चुनौतीहरू जस्ता गतिविधिहरू गराएकी थिइन् ।
उनले विद्यार्थीहरूलाई समूहमा काम गर्न, नयाँ विचारहरू प्रस्तुत गर्न र आफ्ना क्षमताहरू प्रदर्शन गर्न उत्प्रेरित गरेकी थिइन् । यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा आत्म–विश्वास, सृजनात्मकता, र नेतृत्व क्षमताको विकास गर्ने विश्वास मिस युनिभर्स नेपाल २०२४ को आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले व्यक्त गरेको छ।७०भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको यस अन्तरक्रियात्मक कार्यक्रम देशका सातै प्रदेशमा सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ।