
सुनाखरी न्युज/ काठमाडौं।
गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा तस्बिर प्रदर्शनी आयोजना गर्ने भएको छ । नेपालका तिनै तहका सरकारले आफ्नै सीप, पुँजी र जनशक्ति लगानीमा तथा छिमेकी र अन्य मित्रराष्ट्रसमेतका सहायतामा राष्ट्रिय र प्रादेशिक गौरवका आयोजनाका तस्बिरहरुको प्रदर्शनीमा राखिने भएका छन् ।
विसं २०७२ को गोरखा भूकम्पपछि भत्किएका ऐतिहासिक धरोहरकोे पुनःनिर्माणपछिको संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिने भएको राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बताउनुभएको छ ।
नेपालमा गणतन्त्र आएसँगै विकास निर्माणमा उत्साहजनक गति लिएको छ । समृद्ध नेपाल निर्माण गर्नको लागि नवीनतम प्रविधिको प्रयोगमा बढोत्तरी भएको छ । समयानुसार नागरिकका आशा, आकाङ्क्षा र अपेक्षालाई सम्बोधन गर्न सरकारले कसरी काम गरिरहेको छ भनेर जानकारी दिन र आशा र भरोसा जगाउन फोटो प्रदर्शनी फलदायी हुने कार्यकारी अध्यक्ष झाले बताउनुभयो ।
प्रदर्शनमामा सातवटै प्रदेशमा भएका पूर्वाधारसम्बन्धी ९० वटा तस्बिर राखिएका छन् । तस्बिर प्रदर्शनीको यही जेठ १० बिहीबार ३ बजे सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । राससले गत वर्ष पनि गणतन्त्र दिवसकै सन्दर्भमा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो । रासस