२०८१ जेठ १६ , बुधवार

भारतको कश्मीरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

napa

सुनाखरी न्युज/ काठमाडौं।

नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्‍याएर बन्धक बनाई काममा लगाइएका ३५ जनाको उद्धार गरिएको छ । सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट राम्रो आम्दानीको प्रलोभन दिई दलालले उनीहरूलाई कश्मीर पुर्‍याएका थिए ।

कश्मीर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खेसेर ठेकेदारले पारिश्रमिक समेत नदिई कुटपिट, डर धम्की देखाएर काममा लगाउँदै आएको थियो । दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा सबै मजदुरलाई कश्मीरबाट उद्धार गरेर मंगलबार दिल्ली ल्याइएको छ ।

उद्धार गरिएका धनुषाका ३८ वर्षीय रञ्जित चौधरी आफूहरूसँग अमानवीय व्यवहार गरिएको बताउँछन् । ‘दैनिक ११ सय नेपाली रुपैयाँ पाउने भनेपछि यता आइयो, जम्मूमा नाला निर्माणको काममा मजदुरी गर्ने भनिएकोमा त्यहाँ नलगेर कश्मीरको श्रीनगर पुर्‍याइयो,’ उनले सुनाए ‘ठेकेदारले हामीसँग भएका सबै सामान खोसेर तीन महिनादेखि बन्धक बनाएर काम गराउँदै आएको थियो । पैसा त दिएन, दिएन सधैं कुटपिट र धम्की दिँदै आयो ।’

उनीहरूलाई परिवारसँगको सम्पर्कबाट टाढा राखिएको थियो । तीन महिनादेखि अत्यन्तै कष्टकर जीवन बिताउनु परेको उनीहरूको भनाइ छ ।केही अगाडि मुश्किलले भाग्न सफल भएका दुई जना गाउँ पुगेपछि धेरै मजदुरहरू बन्धक बनाइएको कुरा सर्लाहीका सामाजिक कार्यकर्ता सरोज रायले थाह पाएका थिए ।

उद्धार कार्यमा जुटेका रायले त्यसपछि आफूले परराष्ट्र मन्त्रालय, दूतावास र ‘किन इन्डिया’लाई यस विषयमा सूचना दिएको बताए । उद्धार गरिएकामा सबैभन्दा बढी महोत्तरीका २३, सर्लाहीका ९ र बाँकी धनुषाका छन् ।