२०८१ जेठ २३ , बुधवार

काठमाडौं महानगरपालिका काठमाडौं–१६ को सेवा आफ्नै भवनबाट

kathmandu-16-building

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिका वडा नम्बर-१६ ले शुक्रबारदेखि आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । नवनिर्मित भवनको भूमिगत तलामा १० वटा चारपाङ्ग्रे सवारी साधन पार्किङ् गर्ने क्षमता छ । ६ जना व्यक्ति अट्ने क्षमताको लिफ्टसहितको भवन अपाङ्गमैत्री हो ।

महानगरकी उपप्रमुख सुनिता डंगोलले चःमतीमा बनेको नयाँ प्रशासनिक भवनको शुक्रबार उद्घाटन गरेकी छिन् । उद्घाटनसँगै वडा कार्यालयले आफ्नै नवनिर्मित भवनबाट सेवा दिन सुरु गरेको हो ।

 

३० साउन २०७८ मा शिलान्यास भएको सो भवन ७ करोड ५३ लाख रुपैयाँमा गौरी पार्वतीरके एन्ड के जीररमिता जेभीले निर्माणको जिम्मा लिएको थियो ।

 

 

महानगरका अनुसार भवन बाहिरबाट हेर्दा नेपाली परम्परागत शैलीको छ । भित्री सुविधा आधुनिक छन् । भवनको जमिन तलामा सहरी स्वास्थ्य क्लिनिक र दर्ता चलानी कक्ष राखिनेछ । पहिलो तलामा वडाध्यक्ष, वडासचिवसहित कर्मचारीको कक्ष हुनेछ भने दोस्रो तलामा वडा सदस्य र कर्मचारी कक्ष हुनेछन् ।

१ रोपनी ४ आना २ पैसा जमिनमा निर्माण भएको भवनमा सुविधा सम्पन्न बैठक कक्ष समेत रहेको छ ।

यसअघि वडा कार्यालय सोह्र खुट्टेस्थित स्थानीय एक क्लब भवनमा सञ्चालन हुँदै आएको थियो ।

यसैबीच उपप्रमुख डंगोलले स्व। मुकुन्द रिजालको पूर्ण कदको शालिक समेत अनावरण गरेकी छन् । रिजाल सोही वडाका वडाध्यक्ष थिए । पदमा बहाली छँदै उनको निधन भएको थियो ।