२०८१ जेठ ७ , सोमवार

रसायन हालेर पकाइएको आँप कसरी चिन्ने?

OIP (1)

सुनाखरी न्युज/ काठमाडौं ।

यतिबेला आँपको सिजन भएकाले जताततै फलफूलको राजा मानिने आँप पाइन्छ। स्वास्थ्यवर्द्धक र स्वादिलो आँपलाई पकाउने बेलामा रसायन हाल्ने कुकर्मले अमृतजस्तो फललाई विष समान बनाइरहेको छ।  किनभने रासायनिक तरिकाले पकाएको आँपमा क्याल्सियम कार्बाइड नामक रसायन हुन्छ । यसले पेट फुल्ने, पखाला लाग्ने र पेटमा ग्यास भरिने हुन्छ ।

आँप, केरा, मेवा, अम्बाजस्ता फल रुखमा छिपिएपछि नपाके पनि टिपिन्छ। यसरी काँचै टिपिने फल टिपिसकेपछि प्राकृतिक रुपमा आफै वा गुम्स्याएपछि पाक्छन् जसको प्रमुख कारण तीनमा प्राकृतिक रुपमा उत्पादन हुने एथिलिन ग्यास हो। एथिलिन ग्यासले फललाई बिस्तारै पकाउँछ। फललाई छिट्टै पकाउनु पर्दा कपडा, बोरा, भुस आदिमा गुम्साइन्छ। जसले गर्दा एथिलिन ग्यास हावामा फैलिएर जान पाउँदैन र चाँडै पाक्छ। यसरी प्राकृतिक तवरले पकाउँदा अमृतसमान पोषिलो हुने आँप क्याल्सियम कार्बाइडजस्ता अखाद्य रसायन हालेर पकाएर बिष समान बनाउने चलन व्याप्त छ।

विभिन्न अध्ययनअनुसार रासायनिक रूपमा पाकेको आँपको अत्यधिक सेवनले क्यान्सरको जोखिम बढाउँछ । यी आँपमा भिटामिन र मिनरल्सको मात्रा कम हुन सक्छ र यसमा हानिकारक विषाक्त पदार्थहरू उच्च मात्रामा पाइन्छ, जसले हृदयरोग, मधुमेह र मिर्गौला रोग निम्त्याउन सक्छ । कहिलेकाहीं कीटनाशकको कारण छाला एलर्जीको जोखिम पनि हुन्छ ।

 

कार्बाइड हालेको आँप कसरी चिन्ने?
कार्बाइडजस्ता रसायन हालेर पकाएको आँप सामान्य विधिहरुबाट पनि चिन्न सकिन्छ। खासगरी यसरी पकाइएको आपँमा प्राकृतिक रुपमा पाकेको आँपमा भन्दा कम रस हुन्छ। रस कम हुने भएकैले यस्तो आँप पानीमा तैरिन्छ भने प्राकृतिक रुपमा पाकेको आँप पानीमा डुब्छ। अतः एउटा भाडामा भरि पानी राखेर आँप राख्दा डुब्छ वा डुब्दैन जाँचेर रसायन हालेर पकाएको आँप छुट्याउन सकिन्छ।

रसायन हालेर पकाएको आँप हेर्दा चम्किलो रंगमा पहेँलै भएर पाकेको देखिन्छ तर भित्र गिर्खा वा नपाकेको भागहरु हुन सक्दछ। रसायन हालेर पकाएको आँपमा प्राकृतिक रुपमा पाकेको आँपमा आउने जस्तो मगमग बासना कम आउँछ।
रसायन हालेर पकाएको आँप सबैतिर चिल्लो पहेँलो भएर पाकेको हुन्छ भने प्राकृतिक रुपमा पाक्दा सबैतिर एकनासको पहेँलो हुदैन।

कार्बाइड बल्ने प्रकृतिको हुने हुँदा उक्त रसायन हालेर पकाएको आँपको नजिक आगोको झिल्का पर्‍यो भने बल्न वा झिल्का टिप्न सक्छ। रसायन हालेर पकाइएको आँप प्राकृतिक रुपमा पाकेकोको तुलनामा कम गुलियो र कम स्वादिष्ट हुन्छ। सकेसम्म प्राकृतिक रुपमा पाकेका फलफूल मात्र खाने गर्नु पर्दछ। बाध्यतावश खानैपर्ने भए पनि केही समय पानीमा डुबाएर बोक्रा ताछेर मात्र खानुपर्छ। आँपको भेट्नोतर्फ अलिकति काटेर आधा घण्टासम्म पानीमा डुबाइ पखालेर बोक्रा तासि खाँदा केही हदसम्म असरबाट बच्न सकिन्छ।