२०८१ जेठ ७ , सोमवार

संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद् चल्न नदिने

Ramesh Lekhak

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनाए शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशन अवरुद्ध पार्ने चेतावनी दिएको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बुधबार बसेको बैठकले समिति बनाउनुपर्ने पूर्वअडानबाट पछि नहट्ने बरु अझै कडाइका साथ संसद्मा प्रस्तुत हुने निर्णय गरेको हो ।

 

‘राज्य संयन्त्र नै एउटा व्यक्तिलाई जोगाउने नाममा किर्ते जालसाजीमा उत्रिएको’ निष्कर्ष निकाल्दै बैठकले संसदीय छानबिनको औचित्व झनै बढेको जनाएको छ । उपसभापति धनराज गुरुङले संसदीय समिति गठन गर्नुपर्ने न्यूनतम मागबाट पछि नहट्ने बताए ।

सभामुख देवराज घिमिरेले मंगलबार बोलाएको सर्वदलीय बैठकमा सत्तापक्ष गृहमन्त्रीमाथि केन्द्रित नगरी समग्र सहकारीका विषयमा छानबिन गर्न समिति गठनका लागि लचक बनेको थियो । तर, कांग्रेसले रूपेन्देही जिल्ला अदालतमा प्रस्तुत अभियोजनमा सहकारीको बचत अपचलन गर्नेमा लामिछानेसमेतको नाम समावेश भएको भन्दै उनीमाथि छानबिन नहुने गरी समिति बनाउने प्रस्ताव अस्वीकार गरेको थियो । उपसभापति गुरुङले लामिछानेलाई जोगाउन प्रधानमन्त्री पुष्पकमल दाहालकै निर्देशनमा महान्यायाधिवक्ताको कार्यालयले जालसाजी पूर्ण ढंगले पत्र दिएको आरोप लगाए ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिवेदनले किटानी गरिसकेको अवस्थामा महान्यायाधिक्ताको जालसाझीपूर्ण पत्र ल्याएर गृहमन्त्रीमाथि छानबिन नहुने कुरा स्वीकार्य नहुने बताए ।