२०८१ जेठ ६ , आइतवार

नतिजा प्रकाशन गर्न बाँकी उत्तरपुस्तिका नतिजा प्रकाशन भइसकेका उत्तरपुस्तिकासँगै नष्ट गर्न पठाइएको ठहर

Tribhuwan-UNiversity-TU

सुनाखरी न्युज/ काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले परीक्षा नियन्त्रक पुष्पराज जोशीसहित ७ जना अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

 

समितिले परीक्षा नियन्त्रक जोशी, सहनियन्त्रक सुरेशजंग शाही र पवन बराललाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो । छानबिन समिति स्रोतका अनुसार उनीहरू ३ जनालाई पदबाट हटाउनसमेत सुझाव दिइएको छ ।

स्नातक तहका ५ सयभन्दा बढी विद्यार्थीको उत्तरपुस्तिका कार्यालयबाटै हराएको विषयमा छानबिन गर्न त्रिवि कार्यकारी परिषद्ले पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो ।

 

परीक्षा नियन्त्रण कार्यालयका प्रशासन प्रमुख सहप्रशासक भोजराज भट्ट र गोप्य शाखाका कर्मचारी उपप्रशासक निलम पोखरेललाई विभागीय कारबाही गर्न सिफारिस गरिएको स्रोतले जनायो । उनीहरूले पदीय जिम्मेवारीअनुसार कर्तव्य पूरा नगरेको भन्दै परीक्षा नियन्त्रण कार्यालयबाट हटाउन प्रतिवेदनमा भनिएको छ ।

उत्तरपुस्तिका हराएको घटनामा बदमासी गरेको भन्दै गोप्य शाखाका शाखा अधिकृत शम्भु दाहाल र नायब सुब्बा दीपक पाण्डेलाई पनि कारबाही सिफारिस गरिएको छ । उनीहरूको लापरबाहीका कारण नतिजा प्रकाशन गर्न बाँकी उत्तरपुस्तिका नतिजा प्रकाशन भइसकेका उत्तरपुस्तिकासँगै नष्ट गर्न पठाइएको छानबिन समितिले औंल्याएको छ ।

समितिमा त्रिविका कानुनी सल्लाहकार नारायण खनाल र अनुगमन निर्देशनालयका उपनिर्देशक विष्णु वाग्ले सदस्य थिए । समितिले गतसाता उपकुलपति केशरजंग बराललाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा परीक्षा नियन्त्रक जोशी कार्यालय समयमै मदिरा सेवन गरी आउने गरेकाले तत्काल पदबाट हटाउन भनिएको छ । गत चैतमा उनी कार्यालयमै बेहोस भएका थिए । उपचारका लागि त्रिवि शिक्षण अस्पताल लैजाँदा सरकारी कर्मचारी कार्यालय समयभित्रै मदिरा सेवन गरेको भेटिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले दोषी देखाएका दुई कर्मचारीको रजिस्ट्रार कार्यालयले सोमबारबाट जिम्मेवारी खोसेको छ । भट्टलाई पब्लिक युथ क्याम्पस र पोखरेललाई इन्जिनियरिङ अध्ययन संस्थान सरुवा गरिएको रजिस्ट्रार कार्यालयले जनाएको छ ।