२०८१ जेठ ६ , आइतवार

‘ती राजनीतिकर्मी र यी प्रधानाध्यापक वीरबल’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रजातन्त्र स्थापनापछि २०५४ जेठमा हुन लागेको दोस्रो स्थानीय निकायको निर्वाचनताका वीरबल यादव भर्खर २५ वर्षमा टेक्नुभएको थियो । कुशल शिक्षक बन्ने सपना बुनेर केही वर्षअघि ओखलढुङ्गाको राज्यलक्ष्मी मावि, उबुमा प्रवेश गरेका यादव हुँदाखाँदाको जागिर छाडेर जन्मस्थान सिरहाको बरियारपट्टि फर्किएको धेरै भएको थिएन । त्यहीबेला चुनावको सरगर्मी बढ्यो । राजनीतिक दलहरुले स्थानीयस्तरमा राम्रो प्रभाव भएका परिवार र धेरै मत बटुल्न सक्ने व्यक्तिको खोजी गर्दै थिए । शिक्षा सङ्कायबाट स्नातक (बिएड) पढेका थोरै युवामध्ये टाठाबाठा र जुझारु स्वभावका यादवमाथि धेरै पार्टीको नजर प¥यो । उहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट गाविस अध्यक्षको उम्मेदवार बन्ने माहोल बन्यो ।

“शिक्षक बन्न हिँडेको मान्छे राजनीतिमा धेरै रुचि थिएन । साथीभाइले निकै जोड गरेपछि चुनावमा उम्मेदवार हुनैपर्ने भयो । उम्मेदवार त भइयो तर गाउँका क्लबहरुमार्फत समाजसेवा गरेको र विद्यालयमा पढाउनेबाहेक अर्को अनुभव थिएन । नभन्दै सबैको इमान्दार सहयोगबाट अध्यक्षमा निर्वाचित भइयो”, यादवले राजनीतिक जीवनको सुरुआती दिन सम्झनुभयो ।

अध्यक्षमा निर्वाचित भएपछि हो यादवको राजनीतिक जीवन सुरु भएको । उहाँ आफ्नो राजनीतिक जीवनबारे भन्नुहुन्छ, “चाहेर वा नचाहेर राजनीतिमा प्रवेश गरिसकेपछि पढेलेखेका युवाप्रतिको भरोसा, विश्वास र अपेक्षाको दबाबमा थिएँ । त्यो भरोसा, विश्वास र अपेक्षालाई टुटाउने वा असफल हुने छुट मलाई थिएन । त्यसैले आफूले जानेको, बुझेको र क्षमताले भ्याएसम्म राम्रो गर्ने प्रयासमा लागेँ ।”

उहाँ आफ्नो कार्यकालमा शिक्षा र कृषिलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुहुन्छ । जिम्मेवारीका हिसाबले गाविस अध्यक्ष भए पनि अनुभव, रुचि र क्षमताका हिसाबले आफूलाई शिक्षा क्षेत्रभन्दा पर बस्न नसकेको बताउने यादवले अध्यक्ष भएकै बेला पनि स्वयम्सेवी शिक्षकको रुपमा पढाउन नछोडेको सुनाउनुभयो । “त्यो समयमा बजेट निकै कम थियो तर पनि आफू पढेको विद्यालयलाई मावि बनाउनैपर्ने आवश्यकता थियो । सोहीअनुसार विद्यालयको स्तरोन्नति गरियो तर पढाउने जनशक्तिको अभाव थियो । त्यही अभाव पूर्ति गर्न मलगायत अन्य केही साथीहरुले स्वयम्सेवी शिक्षकका रुपमा काम ग¥यौँ”, यादवले भन्नुभयो । त्यसैगरी उहाँले सो क्षेत्रमा विकराल समस्याका रुपमा रहेको सिँचाइका लागि जनश्रमदानमार्फत गार्गन खोलामा कच्ची बाँध बाँधेर किसानको खेतसम्म पानी पु¥याएको बताउनुभयो ।

यसरी मोडिए राजनीतिमा

विसं २०४४ मा सिरहास्थित चन्द्र माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण यादवले भारतको विहारस्थित विहार इन्टर काउन्सिलबाट विज्ञान विषयमा प्लस टूसम्मको अध्ययन गर्नुभयो । पछि सूर्यनारायण सत्यनारायण मोर्बैत्ता यादव बहुमुखी क्याम्पस (सिरहा क्याम्पस) बाट शिक्षा सङ्कायबाट बिएडसम्मको अध्ययन गर्नुभयो । त्यसपछि उहाँल २०५२ देखि २०५४ सम्म ओखलढुङ्गाको राज्यलक्ष्मी माविमा राहत शिक्षकका रुपमा अध्यापन गराउनुभयो । यो यादवको अध्यापन यात्राको सुरुआती थियो ।

तीन वर्षदेखि एसएलसीमा कोही पनि उत्तीर्ण नभइरहेको अवस्थामा विद्यालय प्रवेश गरेका नवप्रवेशी यादवमाथि स्थानीय अभिभावक र सहकर्मीहरुको आशा थपियो । सानैदेखि आफ्नो जिम्मामा आएको काम जसरी पनि फत्ते गरिछाड्ने सङ्कल्पसहित डटेर लाग्ने स्वभावका यादवले त्यही निष्ठाका साथ काम गर्नुभयो । अन्ततः उहाँलगायत सहकर्मीको योगदानका कारण विद्यालयसँग जोडिएको पहिलो वर्षमै १७ जना विद्यार्थीमध्ये १५ जना उत्तीर्ण भएको उहाँले बताउनुभयो । “माध्यमिक तहमा गणित, विज्ञान, स्वास्थ्य तथा शारीरिक शिक्षालगायत मुख्य विषय मैले नै पढाउनुपर्ने भयो । कक्षा १० मा मात्र मैले पाँच विषय पढाउनुपर्ने भयो । शिक्षक अभावका कारणले मात्रै होइन, त्यसलाई ममाथिको भरोसाका रुपमा लिएर काम गरे । यसकारण लगातार तीन वर्षदेखि एसएलसीमा शून्य नतिजा ल्याइरहेको विद्यालयबाट म जोडिएको वर्षमै १७ जनामा १५ जनाले उत्तीर्ण भएपछि त्यसको जस मलाई नै आउने स्थिति बन्यो”, यादवले रासससँग भन्नुभयो ।

यादवकै भरमा वैकल्पिक विषयका रुपमा इच्छाधीन गणित थपियो । विद्यालयले राम्रो नतिजा ल्याउने मात्रै होइन कतिपय विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण भए । राम्रो नतिजा ल्याउन थालेपछि त्यसको जस जति यादवलाई दिने अवस्था बन्दा सहकर्मीमध्येकै केहीलाई मन परेन । एकदिन तिनैमध्येका एक सहकर्मी शिक्षकसँग झगडा भएपछि भने यादवको जीवनले अर्को मोड लियो । “म सबै कुरा त्यागेर विद्यालयको हित नै मेरो हित हो भनेर खटिएको थिएँ । एउटै कक्षामा पाँचवटा विषयसम्म अध्यापन गराएँ । अरुको भन्दा मेरो विषयमा राम्रो नतिजा आएपछि समग्रमा विद्यालयकै नतिजा सुध्रियो”, यादवले मलिन मुद्रामा भन्नुभयो, “तर एक दिन स्थानीय सहकर्मी शिक्षकले मसँग निहुँ खोजेर झगडा गरे । चित्त दुखाउने शब्द प्रयोग गरे । त्यसै दिन हो यो समाजका लागि यति धेरै मेहनत गर्दा पनि कदर नहुने रहेछ भनेर चित्त दुुःखाएर आफ्नै गृहजिल्ला फर्किएको ।” त्यहीँ परिघटनाले एउटा शिक्षक एकाएक राजनीतिकर्मी र त्यसमा पनि गाउँपालिकाको अध्यक्ष बन्ने अवस्था आएको यादवको भनाइ छ ।

त्यसपछि मूल पेसामै फर्किए

यादवले राजनीति सुरु गरे पनि आफ्नो लगाव शिक्षा क्षेत्रबाट कहिल्यै अलग नभएको बताउनुभयो । त्यसमा पनि भर्खरै बामे सर्न थालेको प्रजातान्त्रिक व्यवस्थामा मौलाएको अस्वस्थ राजनीतिक प्रवृत्तिले राजनीतिमा रहिरहने लोभ कहिल्यै जाग्न नदिएको उहाँको भनाइ छ । “भन्न त राजनीति पेसा होइन सेवा हो भन्छन् तर अधिकांश राजनीतिकर्मीले बाँचिरहेको जीवनसँग यो भनाइको तालमेल नै हुँदैन । मैले चाहिँ भन्नलाई एउटा र बाँच्नलाई अर्को गरी दुईटा जीवन बाँच्न सकिन । त्यसैले त हुँदाखाँदाको राजनीतिक जीवनलाई चटक्क छाडेर हिँडे”, यो प्रसङ्गको शुभारम्भमै वीरवल यादवले भन्नुभयो ।

सिरहाको बरियारपट्टि गाउँपालिका—३ स्थित श्री जनता मावि (प्रविधिक धार) को नेतृत्व अर्थात प्रधानाध्यापकको जिम्मेवारीमा यादव हुनुहुन्छ । २०६७ सालदेखि उहाँले यस विद्यालयमा प्रवेश गर्नुभएका थियो । सोही विद्यालय खोज्दै त्यहाँ पुगेका हामीसँग उहाँले सुरुमै राजनीतिको कुरा उप्काएपछि सोध्नै प¥यो, त्यसो भए राजनीति छोडेर फेरि शिक्षण पेसामै फर्किने मोड चाहिँ कसरी आयो ? जवाफमा यादवले २०५२ सालमा शिक्षा सेवा आयोगको परीक्षा दिएको र त्यसको नतिजा भने अध्यक्षको कार्यकालको सकिने बेला आएकाले फेरि रुचि र आफ्नो अनुभवकै क्षेत्रमा फर्किने अवस्था बनेको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “मन शिक्षामा थियो तर भूमिका राजनीतिकर्मीका रुपमा गाविस अध्यक्षको थियो । न यो पद स्थायी हो न त राजनीति मेरो स्वभाव सुहाउँदो छ भन्ने बुझाइ बदलिएको थियो । त्यसैले अध्यक्षमा बहाल रहेकै बेला अन्तर्वार्ता दिन गएको थिएँ । यसमा तत्कालीन शिक्षक र अहिले सुखीपुर नगरपालिकाका प्रमुख रामअवतार यादवको ठूलो भूमिका छ ।” नभन्दै अध्यक्षको कार्यकाल सकिएको दुई वर्षपछि आएको नतिजामा यादव उत्तीर्ण हुनुभयो । सुखीपुर नगरप्रमुख यादवकै सल्लाहबमोजिम २०६० सालमा स्थायी नियुक्ति लिएर अध्यापन यात्रा पुनः सुरु गरेको यादवले स्मरण गर्नुभयो । उहाँको स्थायी शिक्षण कर्म सोलुखुम्बुको देउसा माविबाट सुरु भयो । त्यहाँ करिब सात वर्ष बिताएका यादवले चार वर्ष प्रअ भएर नेतृत्व गर्नुभयो तर पछि हालको विद्यालयमा सरुवा भएर आउनुभयो ।

“मैले सात कक्षासम्म पढेको विद्यालय हो यो । यहाँ मावि तथा उच्च शिक्षा नहुँदा अन्यत्र जानु पर्दाको पीडा नजिकबाट भोगेको छु । त्यसैले गाविस अध्यक्ष हुँदा मावि बनाएको विद्यालयलाई उच्च मावि बनाउने मेरो पहिलो प्राथमिकता थियो”, यादवले भन्नुभयो, “त्यसैका लागि साढे नौ कट्टा जमिन किन्न र बाँकी थपथाप गर्नमा जोड दिएर करिब दुई विघा जग्गा पुगाइयो । त्यसपछि यहाँ कक्षा १२ सम्म शिक्षा, वाणिज्य, कृषि, विज्ञान समूह विस्तार गरी अध्ययन अध्यापनको काम सुरु भएको छ ।” यादव सो विद्यालयमा मावि तहको एक्लो स्थायी शिक्षक हुनुहुन्छ । सो विद्यालयमा उच्च मावि तहमा निजी स्रोत तथा राहतमा अनुदानमा नौसहित कूल ३२ जना हुनुहुन्छ । त्यहाँ मावि तहमा साढे १४ सय र उच्च माविमा तीन सय जना गरी साढे १७ सय विद्यार्थी अध्ययनरत छन् ।

मुसहर बालबालिकालाई शिक्षासँग जोड्ने सपना

बरियारपट्टि अर्थात् विद्यालय वरपर यादव समुदायको बाहुल्यता भए पनि अन्य समुदायको पनि मिश्रित उपस्थिति छ । करिब सय घर परिवार त मुसहर समुदायका मात्रै छन् । ती परिवारबाट विद्यालय जाने बालबालिकाको सङ्ख्या करिब ३५ जना मात्रै छ । त्यो पनि प्रअ यादवलगायतको मेहनतबाट सम्भव भएको हो । “मुसहर समुदायका बालबालिका विद्यालय आउने अवस्था नै थिएन । आठ÷दस वर्षको उमेरमा विद्यालय आउने र प्राथमिक तहभन्दा माथि पढ्नै नचाहने प्रवृत्ति छ”, यादव भन्नुहुन्छ, “हातहातमा मोबाइल छ तर कापी कलम किन्ने पैसा छैन भनेर अभिभावकले बहानाबाजी गर्ने र पैसा कमाउन भारत पठाउने समस्या त्यो समुदायको ठूलो समस्या हो । अहिले मुस्किलले ३०÷३५ जनालाई विद्यालयमा टिकाएका छौँ ।”

सो क्षेत्रमा मुसहर समुदायबाट एसएलसी उत्तीर्ण गर्ने एक जना मात्रै छन् । यादवलगायतकै पहलमा वर्षको रु ३० हजार छात्रवृति पाउने गरी पठनपाठनको व्यवस्था मिलाउँदासमेत ती विद्यार्थी १२ कक्षाको परीक्षाकै मुखमा भागेर पञ्जाव गएको घटनाले उहाँलाई अहिले पनि पिरोलिरहेको छ । यादवको दुःखेसो छ, “शिक्षाबिनाको जीवन कहिल्यै माथि उठ्न सक्दैन । यो कुरा जति बुझाउने प्रयास गर्दा पनि मुसहर बस्तीका अभिभावकले बुझ्दैनन् । सरकार र सरोकारवालाले बालबालिकालाई विद्यालयमा टिकाउन मुसहरबस्तीका अभिभावकलाई जीविकोपार्जनको आधार तयार गरिदिनुपर्ने आवश्यकता छ ।”

हुन त यादवले विद्यालयको भौतिक अवस्था सुधारमा मात्रै ध्यान दिनुभएको छैन । गुणस्तरीय शिक्षाका लागि सहकर्मीसँगै आफू पनि अहोरात्र खटिरहनुभएको छ । त्यसैको परिणामस्वरुप गत वर्षसम्म सो विद्यालयबाट उत्तीर्ण १२ जनाले लोक सेवा र चार जनाले शिक्षक सेवामा नाम निकालेका छन् । विद्यालयको शैक्षिकस्तर माथि उठाउन उहाँको अधिकांश समय विद्यालयमै बित्छ । त्यसक्रममा विद्यालयका सहयोगीदेखि सहकर्मीसम्म, विद्यालय व्यवस्थापन समितिदेखि समाजका अगुवाहरुसँग विद्यालय सुधारका योजनाबारे छलफल गर्नुहुन्छ । त्यही छलफलको निष्कर्षस्वरुप प्रविधिमैत्री शिक्षण सिकाइ, स्मार्ट बोर्ड, प्रोजेक्टरजस्ता विद्युतीय सामग्रीको प्रयोग, त्यसका लागि शिक्षकलाई १५ दिने तालिमजस्ता कार्य अगाडि बढेका छन् ।

बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतो प्रअ यादवले विद्यालयको सुधारका लागि बनाउने सम्पूर्ण योजनामा आफूहरुको भरपुर सहयोग रहने बताउनुहुन्छ । “उहाँको लगाव देखेर हामी पनि उत्साहित छौँ । सबैको सल्लाहअनुसार चालु आर्थिक वर्षमै स्नातकसम्म स्तरोन्नति गर्न रु एक करोड बजेट विनियोजन गरिएको छ”, उहाँले भन्नुभयो ।

वरिष्ठ पत्रकार रामरिजन यादव पनि सिरहाको दक्षिणी भेग र विशेषगरी हुलाकी सडक क्षेत्रको शिक्षा सुधार गर्न प्रधानाध्यापक यादवको पहलकदमी र योगदानबाट आफू पनि निकै प्रभावित भएको बताउनुहुन्छ । “उहाँ राजनीतिक चेत भएको एक कुशल शिक्षक हो, त्योभन्दा बढी शिक्षाप्रति उहाँको एक प्रकारको ‘पागलपन’ छ, त्यसले बरियारपट्टिको यो क्षेत्रमा शिक्षा बलियो जग बसाल्न भूमिका खेलेको छ”, यादव भन्नुहुन्छ, “यहाँका अभिभावक, बुद्धिजीवी तथा अगुवा व्यक्ति सबैसँग समन्वयगरी अगाडि बढ्ने उहाँको बानिले हामीलाई पनि सहयोग गर्न बाध्य बनाएको छ ।”यादव अवकाश हुन अब चार पाँच वर्षमात्रै बाँकी छ । त्यसअघि उच्च माविलाई क्याम्पस बनाएर गुणस्तरीय शिक्षाको जग बलियो बनाउने उहाँको सपना छ ।

इमान्दार प्रयत्न गर्दा जुनसुकै पेसा पनि राम्रो हुने धारणा राख्ने यादव राजनीति भने शिक्षण पेशाभन्दा कठिन रहेको बताउनुहुन्छ । सामाजिक चेतना, शैक्षिकस्तर र जागरणका हिसाबले पहिलेको राजनीति तुलनात्मक रुपमा सहज भए पनि अहिले थप जटिल बन्दै गएकाले राजनीति छोड्दा कहिल्यै पछुतो नलागेको उहाँले बताउनुभयो ।  रासस