२०८१ जेठ ६ , आइतवार

सवारी दुर्घटना न्यूनीकरण गर्न सामूहिक प्रयत्न आवश्यक

accident i

सुनाखरी न्युज/ काठमाडौं ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरण सामूहिक प्रयत्नबाट मात्र सम्भव रहेकामा सरोकारवालाले जोेड दिएका छन् । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि गोरखामा आजदेखि सुरु भएको ‘ट्राफिक सप्ताह–२०८१’ को उद्घाटन कार्यक्रममा सहभागीले ट्राफिक प्रहरी मात्र दुर्घटना रोकथाम र न्यूनीकरण गर्न पर्याप्त हुन नसक्ने बताएका हुन् ।सडकमा ट्राफिक प्रहरीले सम्भावित दुर्घटना रोकथामका लागि निरन्तर प्रयाससँगै समुदाय, नागरिक, चालक, यात्रु तथा यातायात व्यवसायीले पनि आ–आफ्नो जिम्मेवारी पूरा गर्नसके दुर्घटना रोकथाम र न्यूनीकरण गर्न सकिने सरोकारवालाले विश्वास व्यक्त गरेका छन् ।

“सचेत व्यक्ति नै आफू सिकाउने तर आफैँले पालन नगर्ने परिपाटी समाजमा व्याप्त छ” जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले भन्नुभयो, “नीतिनियम र अनुशासनको पालना सबै पक्षले गर्ने हो भने दुर्घटना बिस्तारै न्यूनीकरण हुँदै जान्छ ।” उहाँले सवारी दुर्घटना रोकथामका लागि ट्राफिक प्रहरीको मात्र जिम्मेवारी हो भन्ने नागरिकको बुझाइलाई परिवर्तन गर्न सक्नुपर्नेमा समेत जोड दिनुभयो ।

“आफ्ना बालबालिकालाई लाइन्सेन्स बिना सवारी चलाउन हुँदैन भनेर सिकाउने काम अभिभावकबाट नै सुरु हुनुपर्छ,” प्रमुख थापामगरले भन्नुभयो, “विद्यालय विद्यालयमा पुगेर बालबालिकामा ट्राफिक सचेतनाको जानकारी दिने र बालबालिकाले घरपरिवार र समुदायमा फैलाउँदै जानसके ट्राफिक सचेतना आमनागरिकसम्म पु¥याउन सकिन्छ ।”ट्राफिक नियमको पालना ट्राफिक प्रहरीका लागि मात्र गरिदिनु परेको जस्तो अनुभूति सवारी चालकबाट हुने गरेको भन्दै उहाँले सवारी चालक, सहचालकलाई पनि दुर्घटना रोकथाम र न्यूनीकरणका लागि ट्राफिक नियमको पालना गर्नुपर्छ भन्ने धारणाको विकास गराउनु आवश्यक रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालले ट्राफिक नियमको पालना नगर्दा अधिकांश दुर्घटना हुने गरेको पाइएकाले दुर्घटना रोकथामका लागि ट्राफिक नियमको गम्भीरतापूर्वक पालन गर्नुपर्नेमा जोड दिनुभयो । “ट्राफिक नियमको पालना गराउने काम ट्राफिक प्रहरीको भए पनि नियम पालना गर्ने दायित्व हामी सबैको हो,” उहाँले भन्नुभयो, “प्रत्येक व्यक्तिले मैले ट्राफिक नियम मान्नुपर्छ भनेर नियमको पालना गर्नसक्ने खालको सामूहिकताले दुर्घटना स्वाभाविक रुपमा कम हुँदै जान्छ ।”

कार्यक्रममा सामुदायिक सेवा केन्द्र गोरखाका अध्यक्ष रामहरि केसीले थोरै जनशक्ति रहेको ट्राफिक प्रहरीले मात्र चाहेर सवारी दुर्घटना कम गर्न नसक्ने भन्दै नागरिकदेखि सवारी चालक, यातायात व्यवसायी, यात्रु तथा पैदल यात्रु र आमनागरिकको सामूहिक अठोटको आवश्यकता रहेकामा जोड दिनुभयो । उहाँले ट्राफिक प्रहरीले पनि पुरानै शैलीबाट सवारी सचेतना तथा दुर्घटना न्यूनीकरणका लागि काम गरेर नपुग्ने भन्दै अब प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी निरीक्षक वासुदेव पाठकले सबै स्तरबाट ट्राफिक नियमको पालना गर्नसके सवारी दुर्घटना रोकथाम गर्न सकिने बताउनुभयो । “सवारी दुर्घटना कम गर्न शिक्षा, इन्जिनियरिङ र इन्फोर्समेन्ट मुख्य सूत्र हो,” उहाँले भन्नुभयो, “सबैलाई ट्राफिक नियमका बारेमा शिक्षा दिने, सडक जोखिमपूर्ण नहुने र नियामक निकायले नियमका कडाइका साथ पालना गर्न÷गराउन लागिपर्ने हो भने धेरै हदसम्म दुर्घटना रोक्न सकिन्छ ।”

कार्यक्रममा प्याब्सन गोरखाका अध्यक्ष सीताराम तिवारीले सडकपेटीमा सवारी पार्किङका कारण पनि दुर्घटना हुने गरेको भन्दै त्यसतर्फ सम्बन्धित निकायले ध्यान पु¥याउनुपर्नेमा जोड दिनुभयो । “दुर्घटना पर्याप्त ट्राफिक नियमको जानकारी नहँुदा हुने कुरामा दुईमत छैन, जहाँ ट्राफिक जनचेतना र अनुशासनको पालना हुन्छ, त्यहाँ दुर्घटना कम हुन्छ, ट्राफिक छ÷छैनभन्दा पनि नागरिकले आफ्नो जिम्मेवारी बहन गर्न सक्नुपर्छ,” उहाँले भन्नुभयो ।  रासस