२०८१ जेठ ६ , आइतवार

नेपालीको औसत आयु ७१.३ वर्ष,महिलाको ७३ र पुरूषको ६८ वर्ष

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

पछिल्लो १० वर्षमा नेपालीको औसत आयु चार वर्ष नौ महिनाले बढेको छ।राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको २०७८ को जनगणनाको जनसांख्यिक सूचकअनुसार नेपालीको औसत आयु ७१ वर्ष तीन महिना पुगेको छ। २०६८ को जनगणनामा औसत आयु ६६ वर्ष ६ महिना पुगेको थियो।

अहिले पुरूषको औसत आयु ६८ वर्ष दुई महिनाको छ। महिलाको ७३ वर्ष आठ महिनामा पुगेको छ।२०६८ को जनगणनाको आधारमा निकालिएको जनसांख्यिक सूचकमा पुरूषको आयु ६५ वर्ष चार महिना थियो भने महिलाको ६८ वर्ष थियो।महिला स्वास्थ्य सम्बन्धी जानकार पोषणविद् डाक्टर अरूणा उप्रेतीले महिलाहरूको स्वास्थ्य संस्थाहरूमा बढेको पहुँच तथा सामाजिक सचेतनाको कारण महिलाको औसत आयुमा क्रमश: सुधार आएको बताउँछिन्।

‘अहिले स्वास्थ्य चौकी, अस्पतालहरू धेरै बढेका छन्। उमेर पुगेपछि बिहे हुने, धेरै बच्चा नजन्माउने र खानपिनमा ध्यान दिने गरेको देखिन्छ, यसले महिलाको औसत आयु बढाउन सहयोग पुगेको छ,’ उप्रेतीले भनिन्।त्यस्तै, सामाजिक शैली तथा स्वास्थ्यप्रति महिलाहरूको सचेतनाको कारण पनि उनीहरूको आयुमा सुधार भएको उनको तर्क छ।’

छोरी मान्छेले तुलनात्मक रूपमा चुरोट रक्सी कम खान्छन्, खानु हुँदैन भन्ने छ, दुर्घटनामा पर्ने महिलाहरूको संख्या कम हुन्छ,’ उप्रेतीले भनिन्, ‘उक्त रक्तचाप हुनेको संख्या हेर्दा पुरूषको तुलनामा महिला निकै कम हुन्छन्।’उनले औसत आयु भने संसारभर नै पुरूषको तुलनामा महिलाको बढी हुने बताइन्।