२०८१ जेठ ६ , आइतवार

होटल संघ नेपाल सुदूरपश्चिम प्रदेश तदर्थ समिति गठन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मितिः २०८१ बैशाख २३ गते आइतबार धनगढीमा होटल संघ नेपालको सुदूरपश्चिम प्रदेश तदर्थ समिति गठन भएको छ । धनगढीका प्रतिष्ठित होटल व्यवसायी दिनेशराज भण्डारीको संयोजकत्वमा जगदीशचन्द्र भट्ट, मानसिंह साउद, ज्ञानेन्द्र गुप्ता र पुष्पराज कुँवर गरी पाँच सदस्यीय समिति गठन भएको हो । उक्त समितिलाई संघका केन्द्रीय अध्यक्ष विनायक शाहले ह्यान पिन लगाएर जिम्मेवारी सुम्पिनु भएको हो ।

उक्त सभालाई सभापतित्व गर्दै होटल संघ नेपालका अध्यक्ष विनायक शाहले संघको सातै प्रदेश र ७७ जिल्लामा संघको उपस्थिति रहने जनाउँदै यस प्रदेशले पर्यटन विशेष गरी होटल उद्योग प्रवद्र्धन र विकासमा सहयोग पुग्ने बताउँदै यस प्रदेशले योजना सहित अगाडीबढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रका प्रमुख अतिथि प्रदेश प्रमुख नजिर मियाले यस प्रदेशमा होटल संघ नेपालको उपस्थितिले प्र्रदेश पर्यटन विकास र विस्तारमा सघाउ पुग्ने बताए । पर्यटन प्रवद्र्धनमा अगाडि बढ्दै गएको सुदूरपश्चिम प्रदेश केन्द्रीय होटल संघको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा यस प्रदेशको पहिचान रहने काम गर्न आग्रह गरे । कार्यक्रममा प्रदेश पूर्व अर्थमन्त्री नरेशबहादुर शाहीले पर्यटन प्रवद्र्धन सम्बन्धी धाराणा राखे।

कार्यक्रमको समन्वय गर्दै क्षेत्रीय होटल संघ कञ्चनपुरका अध्यक्ष जगदिशचन्द्र भट्टले प्रदेश गठनबारे खुसी व्यक्त गर्दै आगामी दिनमा प्रदेश पर्यटन प्रवद्र्धनमा नवगठित समितिले प्रदेश पर्यटन प्रवद्र्धनमा केन्द्रीय ह्यानसँगको सहकार्यमा उल्लेखनीय कार्य गर्ने बताए । तदर्थ समिति संयोजक दिनेशराज भण्डारीले केन्द्रीय होटल संघले प्रदान गरेको जिम्मेवारी नतिजामुखी हुने गरी वहन गर्ने बताए ।

संघका केन्द्रीय कोषाध्यक्ष युवराज श्रेष्ठले होटल संघ नेपालबारे प्रस्तुतिकरण गर्नुभयो भने संघका महासचिव साजन शाक्यले धन्यवाद व्यक्त गरे ।