२०८१ जेठ ८ , मंगलबार

अमलाचौरका अग्नीपीडितलाई राहत

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

घर गोठ जलेर बिचल्लीमा परेका यहाँका दुई परिवारलाई राहत उपलब्ध गराइएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरका अग्नीपीडित परिवारलाई बागलुङ नगरपालिका, कालिका भगवती गुठी व्यवस्थापन समिति, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतले नगद तथा खाद्यन्न सहयोग गरेका हुन् ।

बुधबार दिउँसोबाट बस्ती नजिकैको जङ्गलमा लागेको आगो एक्कासी बस्तीमा छिरेपछि स्थानीय यदुनाथ पाध्या र ददिराम पाध्याको घर गोठ जलेको थियो । जंगलमा लागेको आगो बस्तीमा छिरेपछि चार घरगोठ जलेर नष्ट भएका छन् । बागलुङ नगरपालिका, १२ बलेवा अमलाचौरको डाँडाखेतमा आगलागी हुँदा दुई घर र दुई गोठ पूर्ण रुपमा जलेका हुन् ।

जैमिनी नगरपालिका, १ कुश्मीशेराको टुनिवोट जंगलबाट सुरु भएको आगो डाँडाखेत बस्तीमा पसेपछि बस्तीको छेउमा भएका घरगोठमा आगोलागी भएको थियो । आगलागीपछि बिचल्लीमा परेको दुई परिवारलाई नगद, खाद्यान्न, लत्ताकपडा गरी करिब रु दुई लाख बराबरको राहत प्रदान गरिएको छ ।

यदुनाथको घर पूर्णरुपमा जलेर नष्ट भएको र घरमा कुनै पनि वस्तु नभएका कारण प्रारम्भिक चरणमा बागलुङ नगरपालिकाले लत्ता कपडा, र खाद्य सामग्री सहयोग गरेको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो । नगरप्रमुख श्रेष्ठ, उपप्रमुख राजु खड्का सहितको टोलीले घटनास्थलमा पुगेर परिवारलाई राहत प्रदान गरेको हो ।

नगरपालिकाले चामल, दाल, लत्ताकपडा, ग्यास चुलो र दैनिक उपभोग हुन अन्य सामग्री प्रदान गरेको हो । नगरप्रमुख श्रेष्ठले पीडित परिवारलाई नगद राहत नगरस्तरीय विपत व्यवस्थापन समितिबाट छिट्टै प्रदान गर्ने बताउनुभयो ।आगलागीबाट घाइते भएका गाई भैसी र बाख्राको पनि नगरपालिकाको पशु प्राविधिकको टोली पुगेर उपचार गरेको छ भने मरेका गाईभैसी बाख्राको व्यवस्थापनका गरिएको छ ।

आगलागीबाट पीडित यदुनाथ र ददिरामले व्यावसायीक रुपमा नै गाई तथा भैसीपालन गरेका थिए । उनीहरुले दुध बेचेरै आम्दानी गरेको पैसाले घरपरिवार धान्दै आएका थिए । आगलागीपीडित परिवारलाई नेकपा (एमाले) बागलुङ अमलाचौरको तर्फबाट नगद रु ७५ हजारसहित २० हजारको खाद्यान्न सहयोग गरिएको सो पार्टीका अमलाचौरका अध्यक्ष ज्ञानेन्द्र ढकालले जानकारी दिनुभयो ।

यस्तै यदुनाथको परिवारलाई अमलाचौरबासीले रु २० हजार चार सय, नेकपा (माओवादी केन्द्र) अमलाचौरले रु २४ हजार दुई सय र अमलाचौर भजन समुहले नगद रु पाँच हजार सहयोग गरेको छ ।यस्तै कालिका भगवती गुठी व्यवस्थापन समितिले खाद्यन्न र लत्ता कपडा सहयोग गरेको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

आगलागीबाट यदुनाथको गोठमा रहेका दुई वटा भैसी, तीन गाई र पाँच वटा बाख्रा जलेर मरेका थिए । यस्तै ददिरामको दुई गोठ जलेका छन् भने गोठमा रहेका एउटा गाई र एउटा बाख्रा जलेर मरेका छन् । साथै दुई गाई र दुई भैसी घाइते भएका छन् । दिउँसो लागेको आगो बुधबार राति ११ बजे स्थानीय नेपाल प्रहरी, नेपाली सेनाको टोलीले नियन्त्रणमा ल्याएको थियो ।  रासस