२०८१ जेठ ४ , शुक्रवार

व्यवसाय खस्केपछि उद्योग सञ्चालक चिन्तित

sunakhari2502

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारी जागिर छाडेर उद्योग सञ्चालन गरेका रामेछापका व्यवसायी व्यवसाय खस्केपछि चिन्तित बनेका छन् । नेपाली सेना, शिक्षक, सव–ओभरसीयरको जागिर छाडेर स्वदेशमै केही गरौँ भन्ने भावनाका साथ व्यवसाय थालेका उनीहरु पछिल्लो समय व्यवसाय सञ्चालन गर्न असमर्थ छन् ।

रामेछाप नगरपलिका–८ बिटारमा स्थानीय रुद्र श्रेष्ठ, भरतकुमार श्रेष्ठ र विश्वास श्रेष्ठले मिलेर कुखुरापालन सुरु गरेका थिए । तीनैजनाले संयुक्त रुपमा रु सात करोड ५० लाखको लगानीमा ‘नेशलन ब्लिडिङ प्रालि’ सञ्चालन गरेका थिए । बजारमा प्रतिस्पर्धा गर्न नसेपछि उनीहरु चिन्तामा छन् ।

“उत्पादन भएका कुखुराका चल्ला बिक्री हुन छाडे”, उद्योग सञ्चालक भरतकुमार श्रेष्ठले भन्नुभयो । एक दशक अघि व्यवसाय सुरु गर्दा चल्लाले राम्रै बजार पाएको उहाँले बताउनुभयो । त्यसपछि उत्साहित हुँदै लगानी थपेर पनि कोरोना माहामारीपछि व्यवसाय खस्कदै गएको श्रेष्ठ बताउनुहुन्छ ।“अहिले भारतबाट कर छली गरी ल्याइएका सस्तो मूल्यका चल्ला बिक्री भइरहेका छन्, यसले स्थानीय उत्पादन विक्री वितरण धारासायमा परेको छ”, उहाँले भन्नुभयो ।

व्यवसाय गर्न सरकारी निकायबाट कुनै पनि सहयोग प्राप्त नभएको ब्याज बंैक तथा सहकारी संस्थालाई तिर्नुपर्दा हैरानी भएको अर्का सञ्चालक रुद्र श्रेष्ठले बताउनुभयो । चल्ला व्यवसायी सङ्घले प्रतिचल्लाको मूल्य रु ८५ कायम गरे पनि रु ६५ सम्ममा समेत बेच्नु परेको उहाँको भनाइ छ ।चल्ला उत्पादन गर्न कम्तिमा २१ दिन लाग्छ । सबै खर्च कटाउँदा एउटा चल्ला उत्पादन गर्न रु ५० देखि रु ५५ सम्मा खर्च हुने गरेको श्रेष्ठले बताउनुभयो । सरकारी निकायले सहयोग नगरेकाले आफुहरु यो व्यवसाय छाड्न बाध्य हुने अवस्था आएको उहाँको भनाइ छ ।

मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले युवा उद्यमीलाई आफुले बैकहरुसँग समन्वय गरेर बिना धितो ऋण दिलाएको बताउनुभयो । एक सय ७० युवा उद्यमीलाई तालिमसमेत दिएको तर त्यसको सदुपयोग खासै नभएको उहाँको भनाइ छ । उद्योगी र स्थानीय सरकारको साझेदारीमा अझै लगानी गर्न सकिने नगर प्रमुख श्रेष्ठ बताउनुहुन्छ ।  रासस