२०८१ जेठ ८ , मंगलबार

बङ्गलादेशद्वारा चिनियाँ कृषि कम्पनीलाई लगानी गर्न स्वागत

china

सुनाखरी न्युज/ काठमाडौं ।

बङ्गलादेशले कृषि उद्योगलाई स्तरोन्नति गरी उच्च गुणस्तरको विकास हासिल गर्नका लागि चिनियाँ कृषि प्रशोधन उद्यम र कृषि मेसिनरी उद्यमलाई मुलुकमा लगानी गर्न स्वागत गरेको कृषिमन्त्री मोहम्मद अब्दुस शाहिदले बताउनुभएको छ ।

बङ्गलादेशका लागि चिनियाँ राजदूत याओ वेनसँग भेटमा शाहिदले बङ्गलादेशको विकासमा चीनले खेलेको भूमिकाको प्रशंसा गर्दै चीन बङ्गलादेशको सबैभन्दा असल मित्र र विकास साझेदार भएको बताउनुभयो । उहाँले चीनमा आँप निर्यातलाई बढावा दिएकामा चिनियाँ पक्षलाई धन्यवाद दिनुभयो ।

याओले बङ्लादेशबाट चीनमा ताजा आँपको निर्यातलाई बढावा दिन र बङ्गलादेशलाई आलुसम्बन्धी रोग नियन्त्रण गर्न चीनले व्यावहारिक उपायहरू गर्ने बताउनुभयो ।चीनले थप बङ्गलादेशी कृषि प्राविधिकलाई चीनमा प्रशिक्षणका लागि आमन्त्रित गरी कृषिमा द्विपक्षीय सहयोगलाई मझबुत बनाई बङ्गलादेशलाई स्थिर आर्थिक र सामाजिक विकास हासिल गर्न मद्दत गर्ने अवसरहरू लिन चाहेको याओले उल्लेख गर्नुभयो ।

मन्त्री शाहिदले चीनबाट धेरै (कृषि) मेसिनरीहरू आयात गर्दै आएको उल्लेख गर्दै यसको मात्रा बढाउने योजना बनाएको बैठकपछि फाइनान्सियल एक्सप्रेसलाई बताउनुभयो ।विशेष प्रकारका कृषि यन्त्रको आयात बढाउनका लागि प्रश्न गर्दा उहाँले कृषि उत्पादकत्व बढाउनका लागि आवश्यक पर्ने हार्वेस्टर र टिलरजस्ता कृषि यन्त्रलाई बढ्दो आयातमा समावेश गरिने बताउनुुभयो ।   रासस/सिन्ह्वा