२०८१ जेठ ४ , शुक्रवार

सामुदायिक विद्यालयमा विद्यार्थी बढे, दुई ‘सिफ्ट’ मा सञ्चालन

school 2

सुनाखरी न्युज/ काठमाडौं ।

सामुदायिक विद्यालयमा पनि अङ्गे्रजी माध्यममा पढाइ हुन थालेपछि अभिभावकको आकर्षण बढ्दै गएको छ । झापाको बिर्तामोडस्थित मोहनमाया माध्यमिक विद्यालयमा विद्यार्थी सङ्ख्या धेरै भएपछि बिहानी र दिवा गरी दुई सत्रमा विद्यालयमा पठनपाठन गरिने भएको छ ।

मोहनमाया माविका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठका अनुसार विद्यार्थी सङ्ख्याअनुसार भौतिक संरचना नहुँदा दुई सत्रमा विद्यालय सञ्चालन गर्नुपरेको बताउनुभयो । “भर्ना अभियानअन्तर्गत हामीले तीन सय जना नयाँ विद्यार्थीका लागि वैशाख १ देखि ६ गतेसम्म भर्ना फारम खुलाएकामा नौ सय ५० जना विद्यार्थीको आवेदन प¥यो र करिब छ सय विद्यार्थीलाई पढाउन नसकिने अवस्था आएपछि अभिभावक, विद्यालय व्यवस्थापन समिति, बिर्तामोड नगरपालिकालगायत सवै पक्षको सहयोगमा बिहानी सत्रमा ६ देखि १० बजेसम्म बढाई गर्ने निर्णय भएको हो,” प्रधानाध्यापक श्रेष्ठले भन्नुभयो ।

बाह्रदशी गाउँपालिकाबाट आफ्नो छोरीलाई कक्षा ३ मा भर्ना गर्न ल्याउनुभएकी अभिभावक कमला कार्की राजवंशी आफ्नो नानीको भर्ना नपाएपछि खाली हात फर्किनुप¥यो । करिब २५ किलोमिटरको दूरी पार गरी उहाँ विद्यालय आउनुभएको थियो । “निजी विद्यालयमा पढाउन हाम्रो आर्थिक हैसियतले भ्याउँदैन, अन्य सामुदायिक विद्यालयमा छोरीलाई पढाउने वातावरण नै छैन, समयको मात्रै बर्बादी हुने पढाईको गुणस्तर नै छैन,” उहाँले भन्नुभयो ।

यो वर्ष नानीबाबुलाई भर्ना गराउन ढिलो ल्याउँदा भर्ना पाइएन, प्रधानाध्यापकले अर्को शैक्षिक सत्रको सुरुवातमा नै ल्याए भर्ना पाउनुहुन्छ भन्नुभएको उहाँले सुनाउनुभयो । उहाँजस्तै निराश भएर अभिभावक आफ्ना नानीबाबुको भर्ना नगराई दिनहुँ जसो फर्किनु परिरहेको छ । मोहनमाया माविका प्रधानाध्यापक श्रेष्ठ भन्नुहुन्छ, “हामीले नर्सरी देखि कक्षा १ सम्म पहिले आउनेलाई भर्ना गर्ने र २ देखि ९ कक्षा सम्म प्रवेश परीक्षा लिई भर्ना गर्ने गरेका छौँ । बिहानी सत्रमा ६ देखि १० बजेसम्म अध्यापन गराउँदा ‘क्रेडिट आवर’ पुग्दैन बिस्तारै विभिन्न दाता तथा नगरपालिकाको सहयोगमा कक्षाकोठा व्यवस्थापन गरी पठनपाठन गराउने विद्यालयको तयारी रहेको छ ।”

अभिभावकको अङ्ग्रेजी भाषाप्रतिको रुचि, विभिन्न सिकाइमा भाषा जान्दाको सहजता र स्वदेश तथा विदेशमा रोजगारीका लागि पनि अङ्ग्रेजी भाषालाई प्राथमिकता दिने हुँदा अङ्ग्रेजी माध्यममा सबैको चासो बढेको प्रधानाध्यापक श्रेष्ठ बताउनुहुन्छ । उहाँले विद्यार्थीको सिकाइमा भाषाले खासै प्रभाव नपार्ने भए पनि अभिभावकको चासो र सहयोगले गर्दा नै अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन गरिएको बताउनुभयो ।

एकजना अभिभावक डिल्लीराम कट्टेल सन्तुष्ट हुँदै भन्नुहुन्छ, “मेरो छोरी १० कक्षामा अध्ययन गर्छिन् दुई वर्षपहिले कक्षा ८ मा यही विद्यालयमा भर्ना गराएको हो । पहिले निजी विद्यालयमा पढाउँदै गर्दा विभिन्न शीर्षकमा लाखौँ शुल्क तिर्नुपर्ने अवस्था थियो अहिले कम शुल्कमा नै गुणस्तरीय शिक्षा उपलब्ध भएको छ ।”

नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा, ३१ (२) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भन्ने व्यवस्था रहेको छ । संविधानमा शिक्षा निःशुल्क गर्ने व्यवस्था गरे पनि विद्यालयमा माध्यमिक तहको २५ वटा सेक्सनका लागि एकजना मात्र शिक्षकको दरबन्दी रहेको र आधारभूततर्फ पनि त्यस्तै अवस्था भएकाले अभिभावकको सहयोगविना विद्यालय सञ्चालन गर्न नसकिने प्रधानाध्यापक श्रेष्ठ बताउनुहुन्छ ।

बिर्तामोड नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव तिलचन भण्डारीका अनुुसार विद्यार्थी सङ्ख्याका आधारमा दरबन्दी सृजना नहुँदा र एक्कासि सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दा समस्या आएको छ । मोहनमाया माविमा एक सय तीनजना शिक्षक कर्मचारी रहेका छन् जसमध्ये ३३ जनाको सेवासुविधा सरकारले र बाँकी ७० जनाको विद्यालयले निजी स्रोतबाट उपलब्ध गराउँदै आएको छ । मौलिक हक तथा विभिन्न ऐन कानुनमा माध्यमिक तहसम्मको पढाइ निःशुल्क हुने भनिए पनि सो अधिकांश विद्यालयमा लागू हुन सकेको छैन ।

सरकारले विद्यालयलाई चाहिने आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पु¥याउन नसक्दा सामुदायिक विद्यालयमा पनि निजी जस्तै शुल्क तिर्नुपर्ने रहेको छ । धेरै लगानी भइसकेका सामुदायिक विद्यालयमा सरकारले थप केही लगानी गर्दा अभिभावकले शुल्क तिर्नुपर्ने अवस्था आउँदैन र संविधानमा व्यवस्था भएको मौलिक हकको समेत कार्यान्वयन हुन जान्थ्यो । रासस