२०८१ जेठ ४ , शुक्रवार

कक्षा १२ को परीक्षामा म्यासेन्जरबाट चिटिङ, तुलसीपुरको विद्यालयहरूबाट ४३५ मोबाइल बरामद

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि देशैभर एकैसाथ चलिरहेको छ । परीक्षा मर्यादित तरीकाले चलिरहेको छ भने कतै लापरबाहीको पराकाष्ठा छ ।परीक्षा अमर्यादित भएको पाइएपछि तुलसीपुर उपमहानगरपालिकाले परीक्षा केन्द्रको अनुगमनलाई तीव्र बनाएको छ ।

मेयर टिकाराम खड्काको नेतृत्वमा छुट्टाछुट्टै टोली अनुगमन र निरीक्षणमा छ । तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीका अनुसार हालसम्म करिब ४३५ थान मोबाइल बरामद गरिएको छ ।

शिक्षा शाखा प्रमुख भण्डारीका अनुसार तुलसीपुरका परीक्षा केन्द्रमा शिक्षकले नै फेसबुक म्यासेन्जरमा ग्रुप बनाई प्रश्नका उत्तर पठाउने गरेका छन् । उक्त ग्रुपमा परीक्षार्थीलाई समेत जोडिएको छ ।

परीक्षार्थीले म्यासेन्जर ग्रुपमा आएको प्रश्न उत्तर उत्तर पुस्तीकामा सार्ने गरेका छन् ।तुलसीपुर उपमहानगरपालिकाले ग्रुप म्यासेन्जरमा आएका प्रश्न उत्तर, ग्रुप एडमिन र प्रश्नको उत्तर लेख्ने शिक्षकका बारेमा प्रमाण सहित प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीलाई जानकारी गराएको छ ।