२०८१ जेठ ४ , शुक्रवार

नेपालको घाँस तिब्बतमा बिक्री गरिँदै

ghas

सुनाखरी न्युज/ काठमाडौं ।

तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालबाट ओट घाँस र जनावरको दाना खरिद गर्ने भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रबीच तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालका दुई कम्पनीसँग सम्झौता गरेको हो। प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपाल क्राउन एग्रिकल्चर इन्टरप्राइजेज र न्यु होप नेपाल कम्पनीसँग क्रमशः ओट घाँस र जनावरको दाना खरिदको सम्झौता गरेको छ।नेपालको दक्षिणी तराईको हावापानी र माटोको अवस्था ओट ग्रासको विकासका लागि उपयुक्त मानिन्छ । ओट घाँसमा कच्चा फाइबरको मात्रा राम्रो हुन्छ । जुन याक जस्ता पशुका लागि महत्त्वपूर्ण मानिन्छ ।

तिब्बतमा ओट ग्रासको ठूलो माग छ । आन्तरिक उत्पादनले यो माग पूरा गर्न नसकेपछि सरकारले घाँस आयात गरिरहेको छ । नेपालबाट उच्च गुणस्तरको ओट घाँस र पशु दानाको आपूर्तिलाई प्रभावकारी रूपमा सुधार गर्न तिब्बत सरकारले नेपाली किसानसँग सहकार्य गरेको हो । घाँस लैजाने कम्पनी तिब्बत प्लेटु ब्लु एग्रिकल्चरका निर्देशक झ्याङ्ग जियाङ्गले तिब्बतका दुग्ध फार्महरू र किसानहरुको लागि चीनको अर्को क्षेत्रबाट घाँस ल्याउनुभन्दा तातोपानी र केरूङ नाका हुँदै नेपालबाट घाँस किनेर लैजान सहज र सस्तो हुने बताउनुभयो ।

यसले नेपाली जनताको आय आर्जन बढ्ने र रोजगारी समेत सिर्जना हुने भएकाले पनि चीनले नेपालमा उत्पादित घाँस आयातलाई प्राथमिकतामा राखेको बताउनुभयो । २०७८ सालमा चिनियाँ विदेशमन्त्रीले नेपालको भ्रमण गर्दा नेपालबाट चीनमा घाँस निर्यात गर्नेसम्बन्धी ‘प्रोटोकल’मा हस्ताक्षर गर्नुभएको थियो । त्यसपछि चितवनको एक नेपाली कम्पनीले हाइलेज ( घाँसको विशेष प्रकार) बनाएर तिब्बत पठाइरहेको छ । सम्झौतासँगै नेपाली किसानले ठूलो परिमाणमा घाँस खेती गर्नसके निर्यात गर्ने ढोका खुलेको छ ।कार्यक्रममा नेपालको हरियो घाँस हेइलिजको उत्पादनदेखि तिब्बतसम्मको निर्यातबारे छोटो भिडियो प्रदर्शन गरिएको थियो।

तिब्बतका चौंरी, याक, घोडा र च्याङ्ग्रालाई लामो हिउँदयाममा खुवाउन हेइलेज प्रयोग गरिन्छ। घाँसलाई पोषण तत्व कायम रहने गरी सुकाएर भण्डारण गरिने प्रक्रियालाई हेइलेज भनिन्छ। हरियो घाँसलाई काटेर सुकाइन्छ र कम ओसिलो बनाइन्छ। त्यसलाई बाँधेर छाया पर्ने ठाउँमा पराल जसरी राखिन्छ। यस प्रक्रियामा घाँसमा हरियो कण र अन्य तत्वहरू पनि ४५ प्रतिशत कायम रहन्छ।