२०८१ जेठ २ , बुधवार

चीनले विद्यालयमा दुर्व्यवहारविरुद्ध अभियान सुरु गर्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्राथमिक, माध्यमिक विद्यालय र किन्डरगार्टेनहरूमा विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न व्यापक प्रयासहरूबीच चीनमा राष्ट्रव्यापी दुर्व्यवहारविरोधी अभियान सुरु गरिने अधिकारीहरूले बताएका छन् ।

शिक्षा तथा सार्वजनिक सुरक्षा मन्त्रालयका साथै अग्नि तथा उद्धार प्रशासनको संयुक्त बैठकले सबै प्राथमिक र माध्यमिक विद्यालयमा दुर्व्यवहारका घटनामा केन्द्रित भएर बृहत् अनुसन्धान गरिने जनाएको छ । बैठकले जवाफदेहिता प्रणालीमा सुधारका लागि पहल गर्नुका साथै कानूनको शासनबारे शिक्षक, विद्यार्थी र अभिभावकलाई शिक्षित गराउनु पर्नेमा जोड दिएको थियो ।

बैठकले विद्यार्थीहरूको मानसिक स्वास्थ्य अनुगमनमा सुधार गर्नुपर्ने आवश्यकतालाई जोड दिँदै विद्यार्थीहरूलाई अनिवार्य शिक्षामा गृहकार्य र विद्यालयबाहिरको ट्युटरिङको अत्यधिक बोझलाई कम गर्न ठोस कदम चाल्न आह्वान गरेको छ ।

विशेषगरी ग्रामीण तथा आवासीय विद्यालयमा विद्यालय भवनको सुरक्षा, आगलागी रोकथाम र खाद्य सुरक्षालाई सुनिश्चित गर्नका लागि आवश्यक कदम चाल्ने गरी सुरक्षा उपायहरू सुधार गर्न प्रयास गरिने बैठकले जनाएको छ ।  रासस/सिन्ह्वा