२०८१ बैशाख ३० , आइतवार

इलाम उपनिर्वाचनः फाकफोकथुम–१ को मतगणना सकियो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

इलाम-२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१ को मतगणना सकिएको छ । सो वडाका तीन वटा मतदान केन्द्रका एक हजार पाँच सय ३८ मतगणना सकिएको हो ।

मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले छ सय ५७ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले पाँच सय ३४ प्राप्त गर्नुभएको छ ।त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले एक सय ८७ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले एक सय १५ मत प्राप्त गर्नुभएको छ ।

विसं २०७९ सालको प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा सो स्थानमा कांग्रेसका उम्मेदवारले आठ सय नौ मत प्राप्त गर्दा एमाले उम्मेदवारले चार सय ५७ मत प्राप्त गर्नुभएको थियो ।

शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए ।यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।  रासस