२०८१ बैशाख २४ , सोमवार

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई दुई लाख जरिवाना

newskarkahna-news686200

 

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । चौधरी ग्रुपले उत्पादन गरेको वाई वाई चाउचाउ कम गुणस्तरको भेटिएपछि महानगरको कृषि तथा पशुपन्छी विभागले जरिवाना गरेको हो ।सात दिनभित्र जरिवाना बुझाउन महानगरले निर्देशन दिएको हो ।

 

तेलको गुणस्तर नभएका कारण चाउचाउमा एसिड भ्यालु धेरै भएको पाइएको हो । काठमाण्डौ महानगरको वडा ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरेर परीक्षण गरिएको थियो ।बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा ९१० को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको हो ।

 

महानगरपालिकाले कपन सरस्वती नगरको एक किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरी १५० ग्राम नमुना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाएको थियो । २०८० सालको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम विक्री मूल्य २० रुपैयाँ पर्ने ती चाउचाउ प्रयोगशालामा परीक्षणपछि न्यून गुणस्तरको प्रमाणित भएको हो ।

 

प्रयोगशालामा ७ गते नमुनाका लागि पठाइएकामा त्यसको रिपोर्ट ११ गते प्राप्त भएको हो । यसरी पठाइएको नमुनामा कम्पनी र उत्पादनको विवरण गोप्य राखिएको थियो । अब कम्पनीले सात दिनभित्र दुई लाख जरिवाना बुझाउनुपर्नेछ । चाउचाउमा एसिड भ्यालु १ भन्दा बढी हुनुहुँदैन । तर, प्रयोगशालाको रिपोर्टअनुसार उक्त वाइवाईमा एसिड भ्यालु १३।९३४ देखिएको छ । तेलको गुणस्तर नभएका कारण चाउचाउमा एसिड भ्यालु धेरै भएको हो । यसको निरन्तर प्रयोगले क्यान्सरजस्त प्रणघातक रोग लाग्न सक्छ ।