२०८१ बैशाख २४ , सोमवार

फेल भएपछि शान्ता चौधरीले भनिन् – लडेर फेरि उठ्ने छु

shanta_chaudhari_fR2vSDHues

सुनाखरी न्युज/ काठमाडौँ ।

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी पूर्वसांसद शान्ता चौधरी बीए पहिलो वर्षको परीक्षामा अनुत्तीर्ण भएकी छन् ।सामाजिक सञ्जालबाट आफैँले फेल भएको जानकारी दिएकी हुन्।  उनका अनुसार अंग्रेजी र आरडी विषय फेल गरेकी छिन्।

 

तर,उनले अझै हरेस नखाएको बताएकी छिन्। उनले भनेका छिन्,‘लौ जा योपटक चाहिँ ब्याचलर फर्स्ट इयरमै फेल भइयो है,बुढेसकालको पढाइ न पर्‍यो, केही छैन लडेर फेरि उठ्ने छु, यसरी नै हिम्मत गरेर अगाडि बढनु हुन अनुरोध गरे मैले मसँग फेल हुने मेरा प्यारा साथीहरूलाई, बधाई तथा शुभकामना छ पास हुने मेरा सम्पूर्ण साथीहरूलाई,अंग्रेजी र आरडी यो दुई वटा विषयले दिमाग खराब गर्‍यो।’ चौधरी कोटेश्वरस्थित हिमालय कलेजमा आर्ट्स विषय लिएर स्नातक अध्ययनरत छिन् । आफूलाई अंग्रेजी र आरडी (ग्रामीण विकास) दुई विषयले दिमाग खराब गरेको उनले बताएकी छन् ।

शान्ताले २०७८ सालमा नयाँ बानेश्वरको रात्नराज्यलक्ष्मी उच्च माविबाट १२ कक्षा उत्तीर्ण गरेकी थिइन् । उनी र अभिनेत्री करिश्मा मानन्धर एकै पटक हिमालयन कलेजमा स्नातक पढ्न भर्ना भएका थिए । शान्ता पढाइ र राजनीति सँगसँगै व्यवसायमा पनि संलग्न छिन् । केही समयदेखि उनले घरेलु अचार बनाएर विक्री वितरण गर्दै आएकी छन् ।