२०८१ बैशाख २३ , आइतवार

इन्टरनेट सेवा जुनसुकै बेला रोकिन सक्‍ने सेवा प्रदायकको चेतावनी

Screenshot 2024-04-26 085501

सुनाखरी न्युज/ काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले जतिबेला पनि इन्टरनेट सेवा काटिन सक्ने चेतावनी दिएको छ ।

आइस्पानले  बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घरघरमा जोडिएको इन्टरनेटको सेवा जतिबेला पनि अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो ।

 

इन्टरनेट ब्याण्डविथबापत १२ महिनाको करिब ३ अर्ब रुपैयाँ भारतीय कम्पनी एयरटेललाई भुक्तानी गर्न सरकारले अवरोध गरेका कारण नेपालभर जतिबेला पनि इन्टरनेट अवरुद्ध हुन सक्ने आइस्पानका अध्यक्ष सुधीर पराजुलीले बताए ।

‘अहिले इन्टरनेट ब्याण्डविथको १२ महिनाको करिब ३ अर्ब रुपैयाँ भारतीय कम्पनी एयरटेललाई पठाउन सकिएको छैन। उताबाट पैसा किन नपठाएको भन्‍दै पत्र आइसकेको छ’, उनले भने, ‘तर, ब्याण्डविथको खरिद गर्दा तिर्नुपर्ने पैसाको सिफारिस नदिँदा जतिबेला पनि इन्टरनेट बन्द हुन सक्छ।’

 

आइस्पानका अध्यक्ष पराजुलीले नेपाल ब्याण्डविथ खरिद गर्दा तिर्नुपर्ने पैसा पठाउन ताकेता पत्र आइसकेको पनि सुनाए । ‘भारतीय कम्पनीबाट खरिद गरेको पैसा पठाउन ताकेता पत्र २ दिन अगाडि आइसकेको छ। तर, सरकारले सिफारिस नदिँदा उक्त पैसा बैंकमा अड्किएर बसेको छ।’

अब हुने इन्टरनेट बन्दको जिम्मा सरकारले लिनुपर्ने आइस्पानको भनाइ छ। अध्यक्ष पराजुलीले भने, ‘हामीलाई आयकर, रोयल्टीलगायतका करमाथि कर थोपर्ने अनि पैसा पठाउन विदेशी मुद्राको पनि सिफारिस नगर्दा दोधारमा छौं । यसको जिम्मा अब सरकारले लिनुपर्छ ।’

उनले सरकारले इन्टरनेट ब्याण्डविथ खरिदको पैसा तत्काल सिफारिस गरेर सहजीकरण नगरे सर्वोच्चमा जाने चेतावनी दिए ।

नेपालमा ७० प्रतिशत ब्यान्डविथ आउने भारतीय कम्पनी एयरटेलले ब्यान्डविथको रकम भुक्तानी नगरे इन्टरनेट बन्‍द हुन सक्‍ने भन्‍दै अध्यक्ष पराजुलीले अविलम्ब विदेशी मुद्रा सटहीको सिफारिस गर्न सरकारसँग आग्रह गरे ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मर्मत सम्भार शीर्षक अन्तर्गतको बेरुजू बक्यौता नतिरेको भन्दै १० महिनादेखि मुद्रा सिफारिस रोकिदिएको छ । तर, इन्टरनेट सेवा प्रदायकहरूले मर्मत सम्भार दूरसञ्चार सेवा अन्तर्गत नपर्ने अडान राख्दै आएका छन् । उनीहरूले दूरसञ्‍चार प्राधिकरणले मर्मत सम्भारबाट लिएको शुल्क बाहेकको आम्दानीबाट रोयल्टी र आरटीडीएफ ९ग्रामीण दूरसञ्चार विकास कोष० दस्तुर बुझाउँदै आएका छन् ।