२०८१ बैशाख २२ , शनिवार

भोलिदेखि सुरु हुने कक्षा १२ को परीक्षामा झण्डै ५ लाख परीक्षार्थी, प्रश्नपत्र अनलाइनबाटै पठाइने

rastiya board

सुनाखरी न्युज/ काठमाडौं ।
कक्षा १२ को शुक्रबार सुरु हुने परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेडवृद्धितर्फका विद्यार्थी हुन् ।

७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन हुनेछन्। गतवर्षभन्दा यसपालि १८ हजार परीक्षार्थी बढेकाले परीक्षा केन्द्र पनि अघिल्लो वर्षको तुलनामा थपिएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जनाए।

सबैभन्दा बढी काठमाडौंमा १ सय ४४ र मनाङ/मुस्ताङमा एक/एक वटा परीक्षा केन्द्र तोकिएको छ। काठमाडौंमा यस पटक स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकिएको हो।देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुँदै छन् ।

२०७६ को कोभिड महामारीयता बोर्डले कक्षा १२ को प्रश्नपत्र अनलाइनबाटै पढाउने व्यवस्था गर्दै आएको छ। परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १ सय ७१ जनशक्ति खटिँदै छन् भने १८ हजार ३ सय प्रहरी परिचालन हुने बोर्डले जनाएको छ।