२०८१ बैशाख २१ , शुक्रवार

‘स्थिरता र समृद्धिका लागि ‘मिसन ८४’ लाई लक्ष्य बनाएका छौँ’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

देश विकासका लागि सत्ता परिवर्तन भइराख्नु राम्रो हुँदैन भन्ने हामी सबैले बुझेकै हो । व्यक्तिगत स्वार्थभन्दा पनि राष्ट्रको हितका लागि सबैले सोच्नुपर्छ । राजनीतिकर्मी होस् वा नागरिक सबैले यो तारिकाले सोच्नुपर्ने हो । स्थिर सरकार नभएकाले नै कानुन निर्माणमा अप्ठ्यारो भएकाले हामी ‘मिसन ८४’ को साथ अघि बढिरहेका छौँ ।

सरकार छिटोछिटो परिवर्तन भएकाले नै संसदीय अभ्यास पनि राम्रो हुन सकेको छ । थुप्रै ऐन कानूनहरु बन्नै बाँकी छन् । कानून निर्माण प्रक्रियामा ढिलासुस्ती भएको छ । कानूनी राज्य स्थापित गर्नमा सरकारको भूमिका महत्वपूर्ण छ तर सरकार परिर्वतन मात्र भएकाले हुन सकेको छैन । सत्ता परिवर्तन खेलकै कारणले कमजोरी देखिएको छ । काम गर्ने माहोल जुन बन्नुपर्ने हो, त्यो हुन सकेको देखिँदैन । जसरी संविधान सबै दलहरुले मिलेर बनाएका छन्, त्यसरी नै संसदमा पनि मिलेर प्रस्तुत हुन सकेको देखिँदैन । कानून बनाउनमा सबैजना मिलेर जानुपर्छ । सबै पार्टी मिलेर देश विकासमा गम्भीर भएर लाग्नुपर्छ । विकास निर्माणमा भन्दा पनि कानून निर्माणमा सांसदहरुको भूमिका बढी हुनुपर्छ ।

मेरो क्षेत्रमा विशेषगरी सिँचाइको समस्या छ । स्थानीयवासीले खेती किसानीका लागि मलखाद तथा बिउबिजन समयमा पाइरहेका हुँदैनन् । छिमेकी राष्ट्र भारतको सबैभन्दा नजिकको सीमाना कृष्णनगरमा सरकारको ध्यान जान सकेको छैन । त्यहाँबाट धेरै पर्यटकहरु आउन सक्छन् । रेलवे स्टेशन नजिकै छ । त्यहाँ न अध्यागमन विभाग छ, न सुख्खा बन्दरगाहको व्यवस्था नै । यसले गर्दा त्यो प्रदेश नै विकासबाट बञ्चित जस्तो देखिन्छ । यस विषयमा मैले पटक–पटक सदनमा पनि उठाउँदै आएको कुरा हो । यो विषय उक्त क्षेत्र तथा प्रदेशको लागि मात्र होइन, राष्ट्रको लागि पनि महत्वपूर्ण कुरा हो ।

युवाहरुको विदेश पलायन अहिलेको अवस्थामा निकै गम्भीर समस्या हो । युवा पलायन राष्ट्रका लागि पक्कै राम्रो होइन । युवाहरुलाई विदेसिनबाट रोक्न सरकारले उत्पादनमूलक तथा विकासका कार्यक्रम ल्याउनुपर्छ । यसपालि उत्पादनमूलक कार्यक्रमहरु समेटेर बजेट आउने भन्ने विश्वास पनि लिएका छौँ ।

हामी नेपालीहरुमा रहेको सबै काम छिटो भइहाल्नुपर्ने प्रवृत्तिले गर्दा पनि नियम तथा कानून पनि पालनातर्फ गम्भीरता देखाएको पाइँदैन । यसमा सरकार, राजनीतिक दलहरु मात्र नभई नागरिकहरुले पनि दायित्वबोध गर्नुपर्छ । राष्ट्र बनाउनेमा सरकारको मात्रै नभएर नागरिकको पनि उत्तिकै भूमिका हुन्छ । देशको समृद्धि नहुनुको मुख्य बाधा भनेको भ्रष्टाचार हो । यसको न्यूनीकरण गर्नु सबैको दायित्व हो । देश विकासका लागि भ्रष्टाचारलाई जसरी पनि हटाउनै पर्नेछ । त्यसैले कुनै ठाउँमा भ्रष्टाचार वा विकृति देखिएको छ भने त्यसलाई रोक्ने जिम्मा सबैको हो । भ्रष्टाचार गरेको कहीँ कतै देखिए सम्बन्धित निकायलाई खबर गरिहाल्नुपर्छ ।

म जुन पार्टीबाट प्रतिनिधित्व गर्छु त्यसको नेतृत्व केपी ओली शर्माले गर्नुभएको छ । उहाँप्रति जनताको ठूलो विश्वास छ । अहिले पनि गर्न सक्ने नेताको रुपमा उहाँ हुनुहुन्छ । देशलाई समृद्ध बनाउने कुरामा उहाँमा स्पष्ट ‘भिजन’ र आँट दुबै छ । त्यसैले स्थिरता र समृद्धिका लागि हामीले ‘मिसन ८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेका छाँै ।

सांसदको परिचय

सराज अहमद फारुकी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधिसभा सांसद हुनुहुन्छ । उहाँले पार्टीको गाउँ कमिटीदेखि जिल्ला कमिटी हुँदै केन्द्रीय सदस्यसम्मको भूमिका निर्वाह गरिसक्नुभएको छ । (सांसदसँग रासस संवाद’ का लागि राससका समाचारदाता बुनु थारुले सांसद फारुकीसँग गरेको कुराकानीको सम्पादित अंश) रासस