२०८१ बैशाख २१ , शुक्रवार

कतारी राजालाई हात्ती उपहार दिने योजना !

rudrakali-and-khagendra-pd_hatti

सुनाखरी न्युज/ काठमाडौं ।
कतारी राजा (अमिर) तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण सिलसिलामा नेपालले हात्ती उपहार दिन गरेको तयारी नेपालले गरेको छ । यद्यपी कतारले भने यो बिषयमा आफ्नो तर्फवाट तयारी पुरा नभएको जनाएकोले यो कार्य रोकिन पनि सक्ने बताइएको छ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण क्रममा २०७५ सालमै नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो । यो प्रतिबद्धता राजा अल थानीको भ्रमणका बेला कार्यान्वयन गर्ने सरकारको तयारी थियो ।

 

तर, कतारकै तर्फबाट आवश्यक तयारी पूरा हुन नसक्दा राजाको भ्रमणकै सिलसिलामा तत्काल हात्ती दिने सरकारको योजना कार्यान्वयनमा भने नआउने वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाले जानकारी दिए ।

कतारले ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि’ (साइटिस) प्रावधानअनुसार स्वीकृति लिइनसकेका कारण यसपालि पनि हात्ती उपहार दिने गरी निर्णय कार्यान्वयन नहुने भएको ढुंगानाले जानकारी दिए ।

 

सरकारले एक पोथी र एक भाले हात्ती उपहारका रूपमा कतार सरकारलाई हस्तान्तरणको योजना बनाएको थियो । रुद्रकली र खगेन्द्र प्रसाद नामका दुई हात्ती कतार सरकारलाई दिने गरी छनोट समेत गरिएको छ ।

 

यसअघि नेपालको प्राविधिक टोलीले कतार पुगेर हात्तीको बासस्थान समेत अवलोकन–अध्ययन गरिसकेको छ । कतारलाई दिन लागिएका यी हात्ती ५ वर्ष उमेरहाराहारीका हुन् । दुवै हात्ती चितवन राष्ट्रिय निकुञ्जस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएर हुर्किएका हुन् ।

उता, परराष्ट्र मन्त्रालय स्रोतले भने हात्ती उपहार दिनेबारे सम्झौता हुने जनाएको छ । मन्त्रालयका एक उच्च अधिकारीले नेपालले कतारलाई हात्ती उपहार दिनेबारे सम्झौताको तयारी रहेको बताए ।