२०८१ बैशाख २१ , शुक्रवार

‘कम्युनिष्ट पार्टी स्थापनामा कर्माचार्यको भूमिका अतुलनीय’

sunakhari2502

सुनाखरी न्युज/ काठमाडौं।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्न नरबहादुर कर्माचार्यको योगदान अतुलनीय रहेको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा बोल्दै उहाँले कर्माचार्य नेपाली कम्युनिष्ट आन्दोलनको धरोहर भएको बताउनुभयो ।

अध्यक्ष नेपालले अरु पार्टीले नेपाली समाजलाई रुपान्तरण गर्न नसक्ने उल्लेख गर्दै क्रान्तिकारी सिद्धान्तले मात्र समाजलाई रुपान्तरण गर्न सकिने बताउनुभयो । मुलुकमा लोकतन्त्रले मात्र नपुग्ने भन्दै उहाँले समाजवादी लोकतन्त्रसम्म पुग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।नेपालले लोकतन्त्रको संवाहक कम्युनिष्ट पार्टी मात्र रहेको अध्यक्ष नेपालको भनाइ थियो । जनताको विकास र स्वाभिमानको पक्षलाई ध्यान दिँदै देशको भाग्य र भविष्यको फैसला कम्युनिष्टले गर्दछ भन्ने मान्यतालाई अझ उजागर गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । कम्युनिष्ट आन्दोलनप्रति जनताको ध्यान आकर्षित गर्न रचनात्मक भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।

“कम्युनिष्टका शत्रु र मित्र हामीले छुट्टाउनुपर्दछ”, अध्यक्ष नेपालले भन्नुभयो, “मित्रलाई एकताबद्ध बनाउने र शत्रुलाई उपयोग गर्न आफ्ना पक्षमा ल्याउनुपर्दछ ।” उहाँले नेपालको राजनीति जटिल रहेको उल्लेख गर्दै सत्ताका लागि गठबन्धन टुट्ने फुट्ने क्रम चलिरहेको बताउनुभयो ।कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं परराष्ट्र«मन्त्री नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नेमध्येका एक नरबहादुर कर्माचार्यको योगदानलाई बिर्सन नहुने बताउनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता लिलामणि पोखरेल, प्रतिष्ठानका सल्लाहकार डा महेश मास्के, सहिद प्रतिष्ठानका अध्यक्ष धर्मशिला चापागाईंलगायतले कर्माचार्यले मुलुकको कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।  रासस