२०८१ बैशाख २२ , शनिवार

देशभरि गर्मी बढ्दा जनजीवन प्रभावित, कहाँको तापक्रम कति ?

garmi

सुनारखी न्युज/ काठमाडौं ।

देशभर पछिल्लो केही दिनयता गर्मी बढ्दै गएको छ । तराई मधेशका जिल्लाहरुमा टन्टलापुर घाम लाग्ने र तातो हावा चल्ने भइरहेको छ ।

खासगरी नेपालगञ्ज, दाङ, भैरहवा, नवलपुर, चितवन लगायतका जिल्लाहरुमा गर्मी अत्यधिक महसुस हुन थालेको छ । बढ्दो गर्मीले जनजीवन प्रभावित समेत भएको छ ।

 

गत चौबिस घण्टामा रुपन्देहीको भैरहवामा सबैभन्दा धेरै गर्मी महसुस भएको छ । भैरहवाको अधिकतम तापक्रम ४३.६ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अघिल्लो दिन भैरहवाको अधिकतम तापक्रम ४१.९ डिग्री सेल्सियस थियो ।

यसैगरी शनिबार धनगढीमा ४०।६ र नेपालगञ्जमा ४०।७ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको छ ।

 

मौसमविद गंगा नगरकोटीले देशभर नै तापक्रम बढ्दै गएको र तत्काल कम हुने सम्भावना नरहेको बताइन् । उनका अनुसार तत्काल देशभर ठूलो पानी पर्ने सम्भावना पनि छैन । तर थोरै स्थानहरुमा हावाहुरी र मेघगर्जनसहित हल्का पानी भने पर्ने गरेको छ ।