२०८१ बैशाख १८ , मंगलबार

यूएईमा अहिलेसम्मकै भारी वर्षा, जलमग्न भयो एयरपोर्ट र सडक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

खाडी क्षेत्रमा भीषण वर्षाका कारण जीवन अस्तव्यस्त भएको छ। यूएईमा परेको भीषण वर्षाका कारण दुबई, आबुधाबीलगायतका ठूला सहरमा यातायात र हवाई उडान अवरुद्ध भएका छन् ।भीषण वर्षापछि जलमग्न दुबईको सडक ।

सोमबार रातिदेखि मंगलबार अबेरसम्म यूएईमा ठूलो पानी परेको हो । खालीज टाइम्सका अनुसार यूएईमा ७५ वर्षयताकै ठूलो पानी परेको हो । यूएई मौसम विभागका अनुसार २४ घण्टाभन्दा कम समयमा अल ऐनमा २५४ मिलिमिटरसम्म पानी परेको थियो ।

समाचार संस्था एपीका अनुसार यूएईमा बाढीका कारण एक जनाको मृत्यु भएको छ । रस अल खैमाहमा बाढीले गाडी बगाउँदा ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।यूएईसहित बहराइन कतार र साउदी अरबमा पनि पानी परेको छ ।

यूएईमा ठूलो पानी परेसँगै छिमेकी मुलुक ओमानमा बाढी आएको थियो ।ओमानमा बाढीका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ ।ओमान र यूएईमा वर्षाका कारण विद्यालयहरू बन्द गरिएका छन् ।