२०८१ बैशाख १८ , मंगलबार

नेपाली फिल्म ‘होस्टेल’को तेस्रो श्रृंखला बन्ने घोषणा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली फिल्ममा थुप्रै स्टार जन्माएको फिल्म श्रृंखला ‘होस्टेल’को तेस्रो अध्याय निर्माण हुने भएको छ । निर्माता कम्पनी र निर्देशक हेरेफेरसहित तेस्रो श्रृंखला बुधबार घोषणा भएको छ ।यसअघि फिल्मका दुई भागलाई सुनिल रावलको दुर्गिश फिल्म्सले निर्माण गरेको थियो । दुर्गिश फिल्म्सले निर्माणको जिम्मेवारी अर्को ब्यानर सम्मान इन्टरटेनमेन्टलाई प्रदान गरेको जनाइएको छ ।

फिल्मको तेस्रो भागको नाम तय नभएपनि यसको निर्देशन कँडेलले गर्नेछन् । पटकथा लेखकको रुपमा माधव शर्मा छन् । अघिल्ला दुई भागका निर्माता रावलले तेस्रो श्रृंखलामा अभिनय गर्ने बताइएको छ । निर्माताको रूपमा शिशिर ज्ञवाली, कार्यकारी निर्मातामा शंकर कोइराला, सहनिर्मातामा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा छन् ।

२०७० सालमा रिलिज भएको ‘होस्टेल’लाई हेमराज बिसीले निर्देशन गरेका थिए भने २०७२ सालमा रिलिज भएको ‘होस्टेल रिटर्न्स’लाई सुरज भुसालले निर्देशन गरेका थिए । यी दुवै फिल्म टिनएज ड्रामा जनराका थिए । घरेलु बक्स अफिसमा यी दुवैले राम्रो कमाइ समेत गरे ।निर्देशक कँडेलले तेस्रो श्रृंखला होस्टेलमा बसेर अध्ययन गरिरहेका किशोरकिशोरी र उनीहरूको भविष्यका घटनामा आधारित रहने बताए ।

उनले यो फिल्मबाट पनि अघिल्ला भागमा जस्तै स्टार कलाकार जन्मिने संकेत गरे ।‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, गौरव पहारी लगायतका कलाकारले डेब्यु गरेका थिए । ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला, प्रदीप चौधरी लगायतले डेब्यु गरेका थिए ।फिल्मलाई २०८१ सालको अन्त्यतिर प्रदर्शन गर्ने जनाइएको छ ।