२०८१ बैशाख २३ , आइतवार

नेपाल र कतारको समाचार एजेन्सीबीच समाचार आदानप्रदानबारे छलफल

Capture

सुनाखरी न्युज/ काठमाडौं।

नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) र कतारको ‘कतार न्यूज एजेन्सी’बीच समाचार आदानप्रदान गर्ने विषयमा छलफल भएको छ ।

नेपालका लागि कतारका राजदूत मिशाल बिन मोहम्मद अल अन्सारी नेतृत्वको प्रतिनिधिमण्डलको आज रासस केन्द्रीय कार्यालय अवलोकनका क्रममा सो बारे छलफल भएको हो ।राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राजदूत अन्सारीलाई स्वागत गर्दै राससले गर्ने समाचार उत्पादन र सम्प्रेषण प्रक्रियाबारे जानकारी गराउनुभएको थियो । राजदूत अन्सारीले स्वागतका लागि आभार व्यक्त गर्दै दुवै समाचार एजेन्सीबीच समाचार सहयोग आदानप्रदान गर्न आफूहरु तयार रहेको बताउनुभएको थियो ।

दुवै समाचार एजेन्सीबीच एकआपसमा समाचार आदानप्रदान गर्ने सम्बन्धी सम्झौता गर्ने प्रक्रिया अघि बढेको छ । सो अवसरमा रासस र ‘कतार न्यूज एजेन्सी’बीच समाचार आदानप्रदान सम्झौता गर्नेलगायत विषयमा छलफल भएको राससका नायब महाप्रबन्धक सोमनाथ लामिछानेले जानकारी दिनुभयो ।

कार्यालय अवलोकनका क्रममा उहाँलाई राससका प्रमुख समाचारदाता उत्तम सिल्वालले समाचार सङ्कलनको प्रक्रिया र प्रधानसम्पादक एकराज पाठकले समाचार सम्प्रेषणबारे जानकारी गराउनुभएको थियो ।

भेटमा राससका महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धकद्वय राजु शाक्य र श्यामप्रसाद रिमाल उपस्थित हुनुहुन्थ्यो । राजदूत अन्सारीका साथ कतारको सञ्चार मन्त्रालयका निर्देशक शेख अल हरिथ सुहैम अल थानी, मन्त्रालयकै अली अब्दुल्ला एजे अल तमिमी र दूतावासका द्वित्तीय सचिव नासेर घानिम सहभागी हुनुहुन्थ्यो ।  रासस