२०८१ बैशाख २० , बिहिवार

बलिउड अभिनेता सलमान खानको घरबाहिर ४ राउण्ड फायर, सुरक्षा बढाइयो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित निवास बाहिर हवाई फायरिङ भएको छ । बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट अगाडि आइतबार बिहान ५ बजे मोटरसाइकलमा आएको एक अज्ञात व्यक्तिले बान्द्रामा रहेको सलमानको घर बाहिर २–३ राउण्ड हवाई फायरिङ गरेर फरार भएका छन् ।

घटनापछि घरको सुरक्षा बढाइएको छ । मुम्बई प्रहरीको अपराध शाखाका अधिकारी अनुसन्धानका लागि त्यहाँ पुगेका छन् । गोलीबारी हुँदा सलमान घरमा थिए । उनलाई यसअघि लरेन्स बिश्नोई–गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो ।

घटनाको खबर पाएलगत्तै मुम्बई पुलिस, अपराध शाखा र फोरेन्सिक विशेषज्ञको टोली पुगेको थियो । सलमानको घर बाहिर सुरक्षा बढाइएको छ । आक्रमणकारीको पहिचान गर्न नजिकैको सीसीटीभी फुटेज पनि जाँचिएको छ । प्रहरीले शंकास्पदसँग सोधपुछ गरिरहेको छ ।

फोरेन्सिक टोलीले बालकोनीमा गोलीको निशान फेला पारेको छ । अहिलेसम्म दुईवटा गोलीको निशान भेटिएको छ । एउटा बाहिरी पर्खालमा र अर्को बालकनीको पर्खालमा । यो मामिलामा मुम्बई प्रहरीले ग्यालेक्सी अपार्टमेन्टका चारजना चौकीदारको बयान रेकर्ड गरेको छ, जो घटनाको समयमा त्यहाँ उपस्थित थिए ।