२०८१ बैशाख २१ , शुक्रवार

म्यान्मामा झडपपछि थाई विदेशमन्त्रीद्वारा सीमावर्ती सहरको भ्रमण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

धेरै दिनको झडपहरूपछि थाइल्यान्डका विदेशमन्त्री शुक्रबार म्यान्माको सीमा भ्रमणका लागि आइपुग्नुभएको मन्त्रालयले बताएको छ । झडपले छिमेकी मुलुक म्यान्मामा एउटा महत्त्वपूर्ण व्यापारिक केन्द्रमा जुन्ता सेनालाई उसको स्थानबाट विस्थापित गरेको छ ।
म्यान्माको सेना र जातीय अल्पसङ्ख्यक सशस्त्र समूहहरूबीचको लडाइँले यो साता सीमावर्ती सहर म्यावाडीलाई हल्लाएको छ । लडाइँका कारण यस सहरका बासिन्दाहरू थाइल्यान्डतिर भागिरहेका छन् । सहरमा तोप र गोलीका आवाज सुन्न सकिन्छ ।

म्यान्मामा सेनाले सन् २०२१ मा गरेको सैन्य विद्रोहबाट उत्पन्न सङ्घर्षका कारण नियमितरूपमा बासिन्दाहरू दुवै मुलुकबीचको दुई हजार चार सय किलोमिटर सीमा पार गरेर भाग्ने गर्दछन् ।विदेशमन्त्री पर्णप्री बहिधा–नुकाराले थाई सहर माई सोटसँग म्यावाडीलाई जोड्ने दुई ‘मैत्री पुल’ को भ्रमण गर्नुहुने थाइल्यान्डको विदेश मन्त्रालयले बताएको छ ।

करेन नेसनल युनियन (केएनयु) ले बिहीबार विस्थापित जुन्ता सैनिकहरू म्यान्मातर्फको एउटा पुलको टर्मिनस नजिक आश्रय लिएर बसेको बताएको थियो । दुई मुलुकलाई विभाजन गर्ने मोई नदी क्षेत्र शुक्रबार बिहान शान्त देखिएको एएफपीका संवाददाताहरूले बताएका छन् ।सीमामा पहरा दिइरहेका एक थाई सैनिकले रातिको निगरानीका क्रममा म्यान्मामा गोली र विस्फोटका आवाज सुनिएको बताए । सीमामा एउटा लाउडस्पिकरमा बौद्ध प्रार्थानाहरू बजाइएका थिए ।

सैनिकहरू बोकेको सात वटा थाई बख्तरबन्द गाडी सडकमा धुलो उडाउँदै रातिको निगरानीका लागि शुक्रबार बिहान सीमावर्ती सहर माई सोट पुगेका छन् । नगन्य सङ्ख्यामा ट्रकहरू यान्माबाट थाई सीमामा रहेको ‘दोस्रो मैत्री पुल’ मा पुगेको एएफपीका संवाददाताहरूले बताएका छन् । कुनै पनि ट्रकलाई म्यान्मामा गएको देखिएको छैन ।हालैका महिनाहरूमा युद्धको मैदानमा धेरै हारको सामना गर्नुपरेको जुन्ताका लागि म्यावाडी सहरमाथि विद्रोहीहरूको पूर्ण कब्जा अपमानजनक पराजय हुनेछ ।

सैनिकका परिवारहरूको सुरक्षाका लागि जुन्ता सैनिकहरू म्यावाडीमा आफ्नो बेसबाट ‘पछाडि हट्नु परेको’ जुन्ताका प्रवक्ता जाव मिन तुनले बिहीबार राति स्थानीय सञ्चारमाध्यमसँग पुष्टि गर्नुभएको थियो । उहाँले जुन्ता र थाई अधिकारीहरूले सैनिकहरूका बारेमा छलफल गरिरहेको बताउनुभयो । यद्यपि छलफलमा कति जना संलग्न थिए भन्नेबारे उहाँले कुनै विवरण दिनुभएन । एएफपीले टिप्पणीका लागि थाई सरकारसँग सम्पर्क गरेको छ ।

विदेश मन्त्रालयका अनुसार आफ्नो एक दिने भ्रमणका क्रममा विदेश मन्त्री पर्णप्री बहिधा–नुकाराले म्यान्माको लडाइँबाट भागिरहेका मानिसहरूको थप आगमनको तयारीलाई पनि हेर्नुहुनेछ ।बिहीबार थाई प्रधानमन्त्री श्रेथा थाभिसिनले म्यावाडीमा हालै भएको झडपहरूबारे उल्लेख गर्दै भन्नुभयो, “राज्यले कसैलाई पनि हाम्रो क्षेत्रमा प्रवेश गर्न अनुमति दिनेछैन ।”

सन् २०२२ मा म्यान्माको हवाई सेनाले सैन्य विद्रोहविरोधी लडाकूहरू विरुद्धको कारवाहीका क्रममा आफ्नो हवाई क्षेत्रको उल्लङ्घन गरेपछि थाइल्यान्डले जेट लडाकू विमानहरू परिचालन गरेको थियो ।म्यान्माबाट भागिरहेका एक लाख नागरिकलाई स्वीकार गर्न तयार रहेको यसै साताको प्रारम्भमा थाइल्यान्डले बताएको थियो ।  रासस/एएफपी