२०८१ बैशाख १९ , बुधवार

अन्तर प्रदेश राष्ट्रिय खेलकुद : ब्याडमिन्टनमा कोसी प्रदेशको वर्चस्व

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

चितवनको भरतपुरमा जारी प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टन खेलमा कोसी प्रदेशले वर्चस्व जमाएको छ ।भरतपुर कवर्डहलमा आज सम्पन्न फाइनल खेलमा सात इभेन्टस्मध्ये चार इभेन्टस्मा कोशीले स्वर्णपदक जितेको छ । महिला सिङ्गलतर्फ कोसीकी सीमा राजवंशीले स्वर्णपदक जित्नुभयो भने मिक्स डबलमा कोशीका विशाल तामाङ र सीमा राजवंशीको जोडीले स्वर्णपदक जित्नुभयो । पुरुष र महिला टिम इभेन्टमा पनि कोसी प्रदेशले नै स्वर्णपदक जितेको छ ।

पुरुष डबलतर्फ गण्डकीलाई विशाल खड्का र सुजन थापाको जोडीले स्वर्णपदक दिलायो भने महिला डबलतर्फ दिलासा राना र तिलमाया रानाले गण्डकीलाई स्वर्णपदक दिलाउनुभयो । वाग्मती प्रदेशका लागि एकमात्र स्वर्णपदक पुरुष सिङ्गलतर्फ राजु गरञ्जाले दिलाउनुभयो । उहाँले फाइनल प्रतिस्पर्धामा गण्डकीका सुजन थापालाई पराजित गर्दै स्वर्णपदक जित्नुभएको हो । विजेताहरुलाई आजै पुरस्कार प्रदान गरिएको छ ।

भलिबलतर्फ आज क्वाटरफाइनलका खेल सम्पन्न भएका छन् । गेष्टहाउस चौरमा भएको क्वाटरफाइनलमा विजयी हुँदै पुरुषतर्फ कोसी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । महिलातर्फ लुम्बिनी र गण्डकी, वाग्मती र कर्णाली सेमिफाइनलमा भिड्नेछन् । दुवैतर्फका सेमिफाइनल खेल भोलि बिहान हुनेछन् ।

यस्तै औद्योगिक प्रदर्शनी केन्द्रमा जारी बक्सिङ खेलका पुरुष र महिला दुवैतर्फका सेमिफाइनल खेल सम्पन्न भएका छन् । भोलि सबै फाइनल खेल हुनेछन् ।बखान स्मृति रङ्गशाला जारी महिला फुटबलतर्फ आज पहिलो सेमिफाइनल जीत निकाल्दै कोसी प्रदेश फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा मधेस प्रदेशलाई २–० गोल अन्तरले पराजित गर्दै कोसीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

दोस्रो सेमिफाइनलमा भोलि कर्णाली र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । प्रथम अन्तर प्रदेश खेलकुदअन्तर्गत महिला क्रिकेट, तेक्वान्दो, कराते र पौडी प्रतियोगिता बुधबार सम्पन्न भइसकेका छन् ।  रासस