२०८१ बैशाख २४ , सोमवार

भारतको फिल्म फेस्टिभलमा नेपालको सर्टफिल्म ‘पाउलो’

Paulo-Poster-900×572

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली सर्टफिल्म ‘पाउलो’ (द शुज) भारतको सिएमएस्, इन्टरनेशनल चिल्ड्रेनस् फिल्म फेस्टिभल (आईसीएफसी) को नोमिनेशनमा परेको छ । यो फेस्टिभल अप्रिल १५ देखि २१ सम्म भारतको लखनउमा आयोजना हुदैछ । जुत्ताको कथावस्तु रहेको लघुचलचित्र “पाउलो” मा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाले अभिनय गरेका छन् ।

 

लघुचलचित्र ‘पाउलो’ पशुपती परिसरमा बस्ने परिवारविहिन एक सडक बालकको कथा हो । जसमा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ । मानिस जन्मन्छ, हुर्कन्छ, विवाह गर्छ, विवाह पश्चात् श्रीमान वा श्रीमतीको मृत्यु भयो भने उसले अर्को विवाह गरेको घटनाहरु समाजमा पाईन्छ, यस्तै मानिसको कथालाई विम्बको रुपमा जुत्ताको जीवनकथा प्रस्तुत गरिएको निर्माण टीमले बताएको छ ।

 

यहाँ कलाकार वा पात्रले जुत्तालाई हैन, जुत्ताले कथाका पात्रहरूलाई घुमाइरहन्छ । जुत्ताको कथा रहेको पाउलो लाई ब्ल्याक हर्स जुत्ता कम्पनीले प्रायोजन गरेको छ। ब्ल्याक हर्सले नेपालमा विभित्र ब्राण्डेड जुत्ता तथा चप्पलहरुको उत्पादन तथा वितरण गर्दै आइरहेको छ ।

 

ऐना आर्ट्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्र पाउलोको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । अन्य चलचित्रहरूमा व्यक्तिलाई पात्रको रुपमा उभ्याउने गरिएतापनि यस लघुचलचित्रमा भने जुत्तालाई नै मुख्य पात्र र जीवनको रुपमा उतार्ने प्रयास गरिएको उनी बताउँछन् ।