२०८१ बैशाख २० , बिहिवार

 श्रीमतीको हत्या गरेर फरार पुरुष १७ वर्षपछि पक्राउ

arrested

 

सुनाखरी न्युज/ काठमाडौं ।

श्रीमती हत्या गरि फरार रहेका एक अभियुक्तलाई प्रहरी १७ वर्षपछि जाजरकोटबाट पक्राउ गरेको छ । १७ वर्षअघि वीरेन्द्रनगर नगरपालिका–१० लाटिकोइलीकी २४ वर्षीय श्रीमती गौरी विक रावतलाई हत्या गरेर फरार रहेका रामबहादुर रावतलाई प्रहरीले जिल्लाको जुनीचाँदेबाट पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार रावतले ०६३ साल असार ९ गते घरमा आफ्नै श्रीमती गौरी रावतलाई कुटपिट गरी हत्या गरेका थिए । गौरीको मृत्यु भएपछि उनी भागेका थिए ।१७ वर्षपछि उनलाई जाजरकोटको जुनीचाँदेबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले बताए । उनका अनुसार रामबहादुर जुनीचाँदे गाउँपालिका–१, काप्रा भन्ने ठाउँमा घर बनाइ बसेका थिए । घटना लगत्तै भारततिर भागेका उनी १० वर्षपछि फर्केर जाजरकोटमै अर्को विवाह गरेर बसेका थिए ।

 

प्रहरीका अनुसार रामबहादुरले ६६ वर्षको उमेरमा २८ वर्षीय महिलासँग विवाह गरेका थिए । जुनीचाँदे रामबहादुरको पुर्ख्यौली थलो हो । गौरीको हत्या गर्दा रामबहादुर ५६ वर्षका थिए । प्रहरी निरीक्षक खड्काका अनुसार रामबहादुरले गौरीको हत्या गरी गोठमा शव फालेर भागेका थिए ।