२०८१ बैशाख १९ , बुधवार

कोशीमा सरकार गठन विवादः अब नयाँ सरकार कि मध्यावधि निर्वाचन ?

Koshi kedar-karki-6

सुनाखरी न्युज/ काठमाडौं ।

 

नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशमा नयाँ सरकार गठनको कसरत थालेका छन् । दुवै दलले आ–आफ्ना प्रदेश सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश सभा सचिवालयमा बुझाएका छन् ।

प्रदेश प्रमुखसमक्ष हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न आफूहरु सक्षम रहेको भन्दै प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै लिखित निवेदन दिएका छन् । तर मुख्यमन्त्री केदार कार्की राजीनामा पनि नदिने, विश्वासको मत पनि नलिने अडानमा छन् ।

 

यससँगै कोशीमा एमाले संसदीय दलका नेता हिक्मत कार्की नयाँ मुख्यमन्त्री बन्छन् कि केदार कार्कीले मध्यावधि चुनाव गराउँछन् भन्ने प्रश्न उठेको छ । ढिलो–चाँडो विवाद सर्वोच्च अदालत आइपुग्ने र त्यहींबाट निरुपण हुने सम्भावना छ ।

 

संविधानको धारा १८८ (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने उल्लेख छ । तर मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिने बताएकाले एमाले र माओवादीले प्रदेशसभाको विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुख परशुराम खापुङसमक्ष माग गरेका छन् ।

संविधानको धारा १८३ (३) मा अधिवेशन चालु नभएको अवस्थामा प्रदेश सभाको एक चौथाइ सदस्यले अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनेर लिखित अनुरोध गरेमा प्रदेश प्रमुखले त्यस्तो बैठकको मिति र समय तोक्नसक्ने व्यवस्था छ ।

विशेष अधिवेशनबाट संकल्प प्रस्ताव पारित गर्ने एमाले र माओवादीको तयारी छ ।

तर प्रदेश प्रमुखले विशेष अधिवेशन बोलाए पनि आफूलाई अप्ठ्यारो नपर्ने मुख्यमन्त्री  केदार कार्कीको बुझाइ छ । ‘विशेष अधिवेशनमा मेरा विरूद्ध अविश्वास प्रस्ताव ल्याउन म्याद पुगेको छैन’ कार्कीले भने ।’