२०८१ बैशाख १८ , मंगलबार

‘एसीसी प्रिमियर कप’ खेल्न भारतबाटै ओमान जाँदै नेपाली क्रिकेट टोली

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोली हाल भारत भ्रमणमा छ । राज्यस्तरीय क्लबसँग त्रिकोणात्मक टी–२० शृङ्खला खेल्न नेपाली टोली भारत भ्रमणमा गएको हो । ‘एसएमएस फ्रेन्ड्सिप कप’ नाम दिइएको उक्त त्रिकोणात्मक शृङ्खलाको उपाधि पनि नेपालले चुम्यो ।

त्रिकोणात्मक शृङ्खलामा नेपालका अतिरिक्त भारतका गुजरात र बरोडा क्लब सहभागी थिए ।नेपालले शृङ्खलाको फाइनल खेलमा गुजरातलाई १८ रनले हरायो ।त्रिकोणात्मक शृङ्खला सकिएपछि अब नेपाली टोली भारतबाटै अर्को महत्त्वपूर्ण प्रतियोगिता ‘एसीसी प्रिमियर कप’ खेल्न ओमान प्रस्थान गर्नेछ ।

एसीसी प्रिमियर कपको दोस्रो संस्करण अप्रिल १२ देखि २१ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।नेपाल एसीसी प्रिमियर कपको साबिक विजेता पनि हो । एसीसी प्रिमियर कपको पहिलो संस्करण एक वर्षअघि नेपालमै आयोजना भएको थियो । उक्त संस्करणको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी) का एसोसिएट्स सदस्य राष्ट्रका लागि प्रिमियर कप निकै महत्त्वपूर्ण प्रतियोगिता हो । यही प्रतियोगिताले एसोसिएट्स सदस्य राष्ट्रका लागि एसिया कपजस्तो ठुलो प्रतियोगिता खेल्ने ढोका खोल्छ । अघिल्लो संस्करणमा पनि नेपाल प्रिमियर कपको विजेता बन्दै एसिया कपमा छनोट भएको थियो ।