२०८१ बैशाख १९ , बुधवार

धितोपत्र बोर्ड (सेबोन) अध्यक्षको सर्ट लिस्टमा छानिए पाँच जना

Sebon

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पदमा आवेदन दिएका १९ जनामध्ये पहिलो चरणमा पाँच जना छानिएका छन् । अध्यक्ष सिफारिस समितिले आइतबार उनीहरूलाई छानेको हो ।

छनोट हुनेमा कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं, नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ रहेको स्रोतले बताएको छ । अध्यक्षका लागि सूचना आह्वान भएपछि १९ जनाले आवेदन दिएका थिए ।

बोर्डको अध्यक्षका लागि कृष्णराज पोखरेल, गोपालप्रसाद भट्ट, नीरज गिरी, केशवप्रसाद श्रेष्ठ, कृष्णप्रसाद अधिकारी, रघुराज काफ्ले, प्रविन पन्दाक, सूर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, विमलकुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल र मुक्ति अर्यालले आवेदन गरेका थिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित समितिले यही फागुन १६ मा अध्यक्षका लागि आवेदन आह्वान गरेको थियो । समितिले पहिलो चरणमा छनोट गरेका ५ जनामध्येबाट दोस्रो चरणमा ३ जना छनोट गरी नियुक्तिका लागि सरकारलाई सिफारिस गर्नेछ । समितिले सिफारिस गरेका ३ जनामध्ये एक जना सरकारले बोर्ड अध्यक्षमा छनोट गर्नेछ ।

सेबोनको अध्यक्षका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका व्यक्ति हुनुपर्नेछ । नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ बमोजिम नाम सिफारिस गर्ने प्रयोजनका लागि गठन भएको समितिले सोही दफाको उपदफा ९५० मा रहेको व्यवस्थाबमोजिम कार्यविधि निर्धारण गरेको हो ।

 

गत पुस २० देखि सेबोनमा अध्यक्ष पद खाली छ ।