२०८१ बैशाख २० , बिहिवार

निर्माणाधीन नमोबुद्ध–तेमाल खण्डका ५९ घर भत्काइँदै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

निर्माणाधीन नमोबुद्ध–तेमाल सडक खण्डअन्तर्गत तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानका ५९ घर तथा भौतिक संरचना भत्काइने भएको छ । यसका लागि स्थानीयलाई सार्वजनिक स्थलमा बनाइएका उक्त संरचना भत्काइ सडक दायाँबाँयाँ खाली गरिदिन गाउँपालिकाले ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

हाल बिपी राजमार्गअन्तर्गत नमोबुद्धनगरस्थित भकुण्डेचोबाट नारायणस्थान हुँदै तेमाल गाउँपालिकाको मच्छेसम्मको १३ किलोमिटर स्तरोन्नतिसहित पक्की बनाउने कार्य भइरहेको छ । पोखरी नारायणस्थानमा सार्वजनिक जग्गा कब्जा गरी पक्की संरचनासमेत निर्माण गरिएको थियो । विसं २०५५ मा भकुण्डे–मेच्छे सडक निर्माणका क्रममा उक्त स्थानमा घर बनाउन थालेपछि बजारका रुपमा विकसित भइसकेको छ ।

गाउँपालिका उपाध्यक्ष दलमान लामाले पोखरी नारायणस्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण भएका सबै घर–टहरासहितका संरचना हटाउन ३५ दिने सूचना जारी गरिएको बताउनुभयो । उहाँका अनुसार स्थानीयलाई समयसीमाभित्रै घर–टहरा हटाउन सूचनाबाहेक अन्य माध्यमबाटसमेत अनुरोध गरिएको हो । उक्त स्थानमा रहेको सार्वजनिक पोखरीमा निर्माण गरिएका पक्की संरचना हटाइ पहिलाकै अवस्थामा ल्याउन पनि अनुरोध गरिएको उहाँले बताउनुभयो ।

बजारमा स्थानीय तेमाल सिं तामाङलगायत केहीले विसं २०५९ पछि पक्की घर निर्माण गरेका छन् । “पक्की संरचना त बनाइयो, तर गाउँपालिकाले आफँैं भत्काउन सूचना गरेको छ, हामी पक्की संरचना जोगाइदिन आग्रह गर्दैछौँ”, तामाङले भन्नुभयो । उहाँले केही स्थानीयवासीको ‘घरबास’नै उठ्ने भएकाले संवेदनशील बन्न जनप्रतिनिधिलाई अनुरोध गरेको बताउनुभयो ।गाउँपालिकाद्वारा जारी सूचनामा समयसीमाभित्र आफैँले भत्काउन र अटेर गरेमा गाउँपालिका कार्यालयले भत्काउने उल्लेख गरिएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरले भकुण्डेबाट मेच्छेसम्म दुई खण्डअन्तर्गत १३ किमी सडक कालोपत्र गर्नेगरी २० महिनाअघि (२०७९ साउन १६ गते) निर्माण कम्पनी केएस देवी रमन/तेज जेभीसँग रु २० करोड ८९ हजारमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार सडक छेउमा पर्खाल लगाउने, नाली निर्माण गर्ने, सववेस, वेस र कालोपत्र गर्नुपर्ने छ ।

आगामी साउन १५ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने उक्त सडक स्तरोन्नति एवं विस्तारको काम ढिलाइ हुँदा पानी परे हिलो र घाम लागे धुलोका सास्ती खेप्नुपरेको भन्दै नमोबुद्ध नगर र तेमाल गाउँपालिकाका स्थानीयले सडक डिभिजन कार्यालय तथा निर्माण कम्पनीलाई विरोध जनाउँदै आएका छन् । हाल उक्त खण्डमा २२ प्रतिशत मात्रै काम भएको कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले शुक्रबार निर्माणाधीन उक्त सडकको अनुगमनपछि कार्यतालिका बनाएर तोकिएको समयसीमाभित्रमा काम सक्ने गरी निरन्तरता दिन निर्देशन दिएको छ । साथै कामको प्रगति विवरण पेस समेत गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ । यसअघि स्थानीयले स्तरोन्नति सुरु गरिएको उक्त सडकको अनुगमन गरी काम छिटो सम्पन्न गराउनुपर्ने माग गर्दै आएका थिए ।  रासस