२०८१ जेठ ६ , आइतवार

मेलम्चीको खानेपानी नियमित रुपमा पिउन मुहान सार्नु नै अन्तिम विकल्प

Melamchi

सुनाखरी न्युज/ काठमाडौं ।
सिन्धुपाल्चोकको हेलम्बुमा अवस्थित हालको मुहान भन्दा करिब एक किमि ‘टावर इन्टेक’ बनाए मात्र उपत्यकावासीले मेलम्चीको खानेपानी नियमित रुपमा पिउन पाउने सुझाव विज्ञहरुले दिएका छन् । मेलम्ची मुहानलाई अझै बाढीको खतरा रहेको भन्दै उनीहरुले स्थायी समाधानका लागि मुहान सार्नुको विकल्प नभएको उनीहरूको धारणा छ ।

मेलम्चीको मुख्य ऋणदाता एसियाली विकास बैंक(एडीबी) को अध्ययनको आधारमा हेलम्बुको सर्कथलीस्थित मुहान सारेर इन्टके बनाउन करिव साढे चार अर्ब खर्च हुने प्रारम्भिक प्रस्ताव तयार गरिएको छ ।

 

नयाँ इन्टेक बनाउन चार वर्षभन्दा बढी समय लाग्नेछ । खानेपानी सचिव सुरेश आचार्यकाअनुसार मेलम्ची आयोजनाको नाममा करिब ६५ अर्ब खर्च भइसकेको छ ।

 

खानेपानी मन्त्री, संघीय संसदीय समितिका सभापतिहरु, सांसदहरु, विज्ञ, मन्त्रालयका अधिकारीहरु, आयोजना प्राविधिकहरुको सहभागितामा बिहीबार सिंहदरबारमा आयोजित मेलम्ची खानेपानीको दीर्घकालीन व्यवस्थापन सम्बन्धी बृहत् छलफलमा मुहान सार्नुको विकल्प नभएको रिपोर्ट सार्वजनिक गरिएको छ ।

२०७८ सालको बाढीले मुहना क्षतिग्रस्त भएपछि वर्षमा ६ देखि ७ महिना मात्र उपत्यकामा मेलम्चीको पानी वितरण हुँदै आएको छ । अस्थायी रुपमा पानी वितरण गरिरहने हो भने १२ महिनामा ६–७ महिना मात्र पानी वितरण गर्न सकिने आयोजनाका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए ।