२०८१ बैशाख १९ , बुधवार

मर्स्याङ्दी जलविद्युत् केन्द्रमा ३० मेगावाट विद्युत् उत्पादन

Capture

सुनाखरी न्युज/काठमाडौं ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घटेर ३० मेगावाटमा झरेको छ । यसवर्ष लामो समयसम्म पानी नपरेकाले ठूलो परिमाणमा विद्युत् उत्पादन घटेको हो ।

सुख्खा यामसँगै नदीमा पानीको बहाव कम भएकाले ५० प्रतिशतभन्दा बढी मेगावाट विद्युत् उत्पादन घटेको केन्द्रले जनाएको छ । ६९ मेगावाट क्षमताको केन्द्रमा हाल ३९ मेगावाट विद्युत् उत्पादन घटेर ३० मेगावाट मात्र भइरहेको केन्द्रका प्रमुख इञ्जिनीयर पशुपति गौतमले जानकारी दिनुभयो ।

लामो समयसम्म पानी नपर्दा, लामो समयसम्म सुख्खा रहँदा नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घट्नुका साथै कतिपय खोला सुकेकाले उत्पादन घटेको उहाँले बताउनुभयो । हाल सुख्खा मौसम भएकाले यस नदीमा मिसिने स्रोतमा पानीको बहाव कम भएपछि उत्पादन घटेको गौतमको भनाइ छ ।

वैशाख लागेपछि घाम पनि चर्को हुँदै जाने भएकाले हिउँ धेरै पग्लने र वर्षा बढी हुने सम्भावन बढ्ने भन्दै उत्पादन पनि बढ्दै जाने इञ्जीनीयर गौतमले बताउनुभयो । सुख्खा मौसममा विद्युत् उत्पादन कम भएपछि प्राधिकरणले भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घटेर विद्युत् उत्पादन पनि घट्ने गरेको गौतमले बताउनुभयो ।यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।  रासस